कोशी

साना दलप्रति साँघुरिदै एमालेको दृष्टिकोण:

प्रदेश १ का पूर्वमुख्यमन्त्री राई भन्छन् - साना दलले सत्ताको च्याँखे मात्रै थापे

बाबुराम भण्डारी |
असार २, २०७९ बिहिवार २१:२३ बजे

विराटनगर - प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले साना दलले सत्ताका लागि मौका हेर्ने, दाउ लगाउने र च्याँखे थाप्ने मात्रै काम गरेको बताएका छन् । 

विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री राईले निर्वाचनहरूले भने पुरानो राजनीतिक इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमाले मात्रै राष्ट्रिय पार्टी भएको देखाइसकेकोले साना पार्टीहरुकौ औचित्यमाथि प्रश्न उठाए ।


नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री राईले बिहीबार बोलेका कुरा यसअघि एमालेकै महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले बोलेका कुरासँग मेल खाएका छन् । यसले एमालेभित्र साना दलहरूलाई हेर्ने दृष्टिकोण साँघुरिँदै गएको देखाएको छ । 

एमाले महासचिव पोखरेलले स्थानीय तह निर्वाचन अघि विराटनगर आएकै बेलामा मुलुकमा नेपाली कांग्रेस र नेकपा एमालेमात्रै आवश्यक रहेको बताएका थिए । उनले साना दलका कारण राजनीतिक व्यवस्थाको स्थिरता कायम हुन नसकेको बताएका थिए ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले पनि मुलुकमा पुरानो इतिहाँस बोकेको नेपाली कांग्रेस र नेकपा एमालेमात्रै मूल राजनीतिक शक्ति भएको पछिल्लो निर्वाचनले पुष्टि गरेको दाबी गरे । विशेष गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै उनले त्यसको पुष्ट्याईका लागि भर्खरै सम्पन्न स्थानीय निर्वाचनको परिणाम हेर्न आग्रह गरे ।

‘राजनीतिक दलको हैसियत के रहेछ भन्ने आइसकेको छ, जनताले नै दलहरूको निर्धारण गरेका छन्’ उनले भने, ‘आगामी निर्वाचनमा जनताले आफ्नो हिम्मतबाट राष्ट्रिय दलहरु छान्नुपर्छ, त्यसो भएन भने मुलुक अस्थिरतामै जकडिरहने, सत्ता बनाउने खेलमा मुलुकमा फसिरहने, साना मसिना दलको काम के त भन्दा मौका हेरेर बस्ने, च्याँखे थापेर बस्ने, मौका आउने बित्तिकै सरकार हटाउने, नयाँ सरकार बनाउने, ठुला दलको बैसाखी टेकेर बसिरहने हुन्छ ।’ 

यसले मात्रै राजनीतिक स्थायित्व, विकास र समृद्धि यात्रामा मुलुकलाई अगाडि लिएर जान सक्ने भन्दै वर्तमान गठबन्धन राष्ट्रिय राजनीतिकै घातक अभ्यास बन्ने खतरा रहेको उनले दाबी गरे ।

स्थानीय तह निर्वाचनले नेपाली कांग्रेस र एमालेलाई मात्रै राष्ट्रिय दलका रुपमा स्थापित गराएको र अन्य दलहरु मुलुकका लागि नकारात्मक राजनीतिक घटनाहरूको नेतृत्व गर्ने भन्दै पूर्व मुख्यमन्त्री राईले आलोचना गरे । 

गठबन्धनका नाममा लोकतन्त्रकै मूल्य मान्यताको खिल्ली उडेको राईले बताए । उनले प्रदेश १ को नामाकरणका लागि नेपाली कांग्रेस तयार भए प्रदेशसभामा नपुग्ने दुई तिहाईको ग्यारेन्टी एमालेले गर्ने ठोकुवा गरे । 

प्रदेशमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई छाडेर पनि नामाकरण गर्न सकिने उनले संकेत गरे । त्यसका लागि नेपाली कांग्रेस सकारात्मक भएर आएको खण्डमा दुई तिहाई पुर्‍याउने काम एमालेले गर्ने उनले बताए ।

‘एमालेले पार लगाउने गरेर प्रदेशको नामको छलफल गरिरहेको छ’ उनले भने, ‘कांग्रेस तयार भए दुई तिहाइका लागि नपुग्ने दुई तीन जना सांसद पनि एमालेले नै पुर्‍याउन तयार छ ।’ 

नामाकरणमा कांग्रेस तयार भए उसले गरिरहेको सत्ता गठबन्धनलाई समेत असर नपर्ने गरी एमालेले भूमिका निर्वाह गर्ने पूर्व मुख्यमन्त्री राईले बताए ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा हाल ९० सांसद कायम रहेका छन् । दुई तिहाईका लागि ६२ जना सांसद आवश्यक पर्नेमा अपुग सांसद एमालेको जिम्मामा छाड्न राईले भनेका हुन् ।
 
प्रदेशसभामा हाल नेकपा एमालेसँग ३९ सांसद कायम छन् । त्यसैगरी नेपाली कांग्रेससँग रहेका २१ सांसद मिल्दा पनि ६० मात्रै हुने भएकोले बाँकी अपुग सांसद एमालेले खोज्ने पूर्व मुख्यमन्त्री राईले बताए । 

सरकारको नेतृत्व गरिरहेको मध्ये एकीकृत समाजवादीसँग १०, माओवादी केन्द्रसँग १५, जनता समाजवादीसँग ३ र  संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । एक सिट रहेको राप्रपा भने प्रतिपक्षमै रहेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x