कोशी

मोरङ–सुनसरीका सडकबाट अर्थमन्त्रीकाे राजीनामा माग

बाबुराम भण्डारी |
असार ९, २०७९ बिहीबार १८:४४ बजे

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध बिहीबार सडकमै नाराबाजी गरेका छन् । उनीहरुले अर्थमन्त्री शर्माले झुटो बोलेको भन्दै राजीनामासमेत माग गरेका छन् । 

वनस्पति घिउ तेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यले मारमा पारेको भन्दै अर्थमन्त्री शर्मालाई भेटेर गुनासो पोखेका उद्योगी व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै प्रदर्शन र नाराबाजी गरेका हुन् । औद्योगिक क्षेत्रका तीन प्रमुख संगठनहरुले दोस्रो चरणको आन्दोलनको कार्यक्रम भन्दै बिहीबारदेखि चरणवद्ध आन्दोलन चर्काएका छन् । 


उनीहरुले २०७९/८० को बजेटमा भएको राजस्वसम्बन्धी व्यवस्थामा अर्थमन्त्री शर्माले पुनर्विचार गर्ने प्रतिवद्धता जनाएपनि प्रतिवद्धतापछि कुनै पनि पहल नगरेको आरोप लगाएका छन् । बिहीबार बुढीगंगा–३ बाँसबारीस्थित हुलास वायर अगाडि प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘झुटो अर्थमन्त्री हाईहाई, अर्थमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका हुन् । उनीहरुले नेमुवा चोकमा आयोजित कोणसभामा अर्थमन्त्रीले उद्योगी व्यवसायीहरुका समस्यालाई गम्भीरताका साथ सोचिदिन आग्रह पनि गरेका छन् । 

अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुलाई ढाँटेको भन्दै सुरु भएको आन्दोलनको नेतृत्व मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको प्रदेश समितिले गर्दा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस तथा नेकपा एमाले निकट ट्रेड युनियनहरुले समेत समर्थन जनाएका थिए । टे«ेड युनियन निकट मजदुरहरुले भने मजदुरमारा अर्थमन्त्री भन्दै नाराबाजी गरेका थिए । उनीहरुले अर्थमन्त्री शर्माको नेतृत्वमा जगदम्बा स्टिललाई मात्रै संरक्षण गर्ने उदेश्यले नीति ल्याइएको आरोप लगाएका छन् । 

विरोध जुलुसपछि आयोजित कोणसभामा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जिआई वायर, घिउतेल र सेनिटरी प्याड लगायतका बिषयमा अर्थमन्त्री शर्माले समस्या थपिदिएको आरोप लगाए । उनले मन्त्री शर्मा नीतिगत भ्रष्टचारमा डुबेको दाबी गरे । जसका कारण उद्योगीहरुका साथै मजदुरहरु पनि सडकमा पुग्नुपर्ने अवथा आएको बताए । ‘मौद्रिक नीतिले इविलिङको समस्या समाधान गर्न सकेको छैन, डलर भुक्तानीमा समस्या कायमै छ, रेमिटेन्स पनि आउन बन्द भइसक्यो, अब त सरकारसँगै जनताको विश्वास हटिसकेको छ’ उनले भने, ‘राज्यले नबुझेजस्तो गरेर बसेको छ, सरकार बल प्रयोग गरेर आवाजहरु दबाउने कोसिसमा छ, यो हामीमाथिको अत्याचार हो ।’ उनले उद्योगी व्यवसायीहरुले जति कर तिर्दा पनि अवस्थामा सुधार नआएको बताए । 

जबसम्म अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या सम्बोधन गर्दैनन्, जनताको हितमा नीति ल्याउँदैनन्, तबससम्म आन्दोलन जारी रहने चेतावनी दिए । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले उद्योगीहरुको समस्यामा अर्थमन्त्री मात्रै नभई राज्य नै गैरजिम्मेवार रहेको आरोप लगाए । ‘यो काम अर्थमन्त्रीको मात्रै निर्णय भएको छ भन्ने लाग्न छाडेको छ, अर्थमन्त्रीमात्रै गलत हो भने अहिलेसम्म प्रधानमन्त्रीले उनलाई बरखास्त नगरेको ?’ प्याकुरेलले सरकारका मन्त्रीहरुको बोली र व्यवहारले सरकारप्रति नैतिकताकै प्रश्न उब्जाइरहेको बताए । 

‘बजेटमा निर्माण हुँदा पनि हामीले बिरोध जनायौं तर हाम्रो कुरा सुन्ने धैर्याता अर्थमन्त्रीले राख्नुभएन, पहिलो चरणको आन्दोलनपछि अर्थमन्त्रीले माग सुनुवाई गर्ने भन्दै काठमाडौं बोलाउनुभयो, तर हामीमाथि कपट गर्नुभयो’ उद्योग संगठनका अध्यक्ष प्याकुरेलले भने, ‘हाम्रो कुरा सुन्ने धैर्यता छ भने हामी आउँछौं भन्यौ, हैन भने हामी आउँदैनौं भन्दा यसपाली हामीले सुन्छौं भन्नुभयो, पुष्पकमल दाहाललाई पनि भेट्यौं, तपाईहरुको माग ठिक छ भन्नुभयो, अर्थमन्त्रीलाई भन्छु भन्नुभयो, बजेट पास गर्न दिनुस् भनेर हामीलाई पछि छल गर्नुभयो ।’ 

स्वदेशी प्याड उत्पादकहरुका तर्फबाट जश्मिन हाइजिन प्रोडक्टका संचालनका पुनित सारडाले किसानपछि उद्योगीहरु अपहेलित भएको गुनासो गरे । उनले सरकारले सिमित उद्योगीहरुलाई मात्रै फाइदा पुग्ने गरी बजेट तथा कर सम्बन्धि नीति ल्याएको दाबी गरे । अर्थमन्त्री शर्माकै कारण स्वदेशी प्याड उद्योगहरु बन्द हुने अवस्थामा पुगेको र देशका उद्योग र उत्पादन बन्द गराएर विदेशबाट आयात गर्नतिर जोड भइरहेको बताए । वनस्पति घिउतेल, स्यानिटरी प्याड, यार्न र एमएस वायर रड लगायतका स्वदेशी उद्योगहरुको प्रतिनिधित्व गर्दै गत जेठ २७ गते मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी संगठनका प्रतिनिधिहरुले अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी लगायतलाई समस्या सुनाएका थिए ।

त्यतिबेलामा बजेट पास भएको तीन दिनभित्र तीन वटै क्षेत्रका उद्योगका समस्यालाई हल गर्ने भन्दै अर्थमन्त्री शर्माले प्रतिवद्धता जनाएका थिए । तर अहिलेसम्म मन्त्री शर्माले आफ्नो बचन कार्यान्वयन नगरेको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित बनेका छन् । उनीहरुले अर्थमन्त्री शर्माको व्यवहार र बोलीमाथि नै प्रश्न उठाए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x