कोशी

पराजित भएको स्थानीय तहमा एमालेको प्रतिपक्ष सरकार बन्ने

इकागज |
असार १२, २०७९ आइतवार २०:२६ बजे

खोटाङ - नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार बसेको पाँचौँ सचिवालय बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालले पराजित भएको पालिकामा आगामी असोज महिनाभरिमा प्रतिपक्ष सरकार बनाउने तयारी गरेको जानकारी दिएका छन् । 


खोटाङका १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा मात्र एमालेले प्रमुख जितेको छ । बाँकी आठ स्थानीय तहमा एमालेले प्रतिपक्ष सरकार बनाउने भएको हो । पालिकाको मनपरीतन्त्रविरुद्ध सशक्त प्रतिवाद गर्न, समग्र जनताको भावनाको प्रतिनिधित्व गर्नदेखि सत्तापक्षले गरेका अनियमितता, एकलौटीपनलाई रोक्न दबाब तथा खबरदारी गर्न प्रतिपक्ष सरकार बनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

‘राम्रो कामलाई साथ दिन र नराम्रो कामलाई पर्दाफास गर्नका लागि पराजित भएको पालिकामा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेका हौँ,’ अध्यक्ष दंगालले भने, ‘प्रतिपक्षको काम विरोध गर्नु मात्र होइन, रचनात्मक सहयोग गर्नु पनि हो । हामी स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौँ । सरकार गलत बाटोमा गए सच्याउने काम गर्नेछौँ ।’ 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएको पालिकामा कांग्रेसले पनि छाया सरकार बनाएको थियो तर छाया सरकार प्रभावहीन बनेको थियो । एमालेले बनाउने प्रतिपक्ष सरकारको प्रभाव भने हेर्न केही समय कुर्नुपर्ने हुन्छ । 

एमालेले गर्‍यो हारको विश्लेषण

चौतर्फी घेराबन्दीका बिचमा चुनावी गणित तलबितल भए पनि जनताको मन र मतमा पहिलो शक्तिको रूपमा आफ्नो पार्टी देखिएको एमालेको विश्लेषण छ । पाँच दलीय गठबन्धन, सत्ता र शक्तिको चरम दुरुपयोग, व्यापक आर्थिक चलखेल, जातीय, क्षेत्रीय र भौगोलिक विषयले पार्टीका केही कार्यकर्ता प्रभावमा पर्नु, विपक्षीको गुण्डागर्दी, बल प्रयोग, पैसा तथा धाँधली रोक्न नसक्नु, टिकट नपाएका नेताले आफूले टिकट पाएको भन्ने भावना पैदा नहुनु लगायतका कारणले हार बेहोर्नु परेको निष्कर्ष निकालेको छ । एमालेले असारभित्र सबै पालिकामा पालिका स्तरीय विस्तारित बैठक गर्न व्यवस्थापक र मुख्य उत्प्रेरण तोकेको जानकारी दिएको छ । 

यस्तै, एमाले बैठकले पार्टी प्रवेश तथा घर फर्क अभियान, जनसंगठनको जिल्ला भेला तथा अधिवेशन, जनप्रतिनिधिको भेला तथा प्रशिक्षण, पार्टी स्कुल सञ्चालन, एमालेसँग जनताको गुनासो संकलन लगायतका कार्यक्रम गर्ने मिति तोकेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, पार्टी विरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्ता उपर छानबिनका लागि अध्यक्ष दंगालको संयोजकत्वमा छानबिन कमिटी गठन गरेको जनाएको छ । 

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं जिल्लाका सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x