कोशी

पहिरो पन्छाएपछि हुर्लुङ-जालपा सडक सुचारु

इकागज |
साउन २०, २०७९ शुक्रवार २१:१ बजे

खोटाङ- पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ-जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो ।

उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । 


हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको हो । पहिरो पन्छाउने क्रममा लाग्ने खर्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने मौखिक सहमति छ । अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ । गत १७ असार यताको वर्षाले पटक-पटक हुर्लुङ-जालपा सडक अवरुद्ध भएको छ । 

सडक ग्राभेल सुस्त 

निर्माण कम्पनी रौता सुसन आदित्य जेभीले हुर्लुङ-जालपा ८ किलोमिटर सडक ग्राभेलको ठेक्का लिएको छ । २४ महिनामा पुरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो । तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । वर्षामा अवरुद्ध सडक खुलाउने जिम्मा रौता सुसन आदित्य जेभीको भए पनि बेवास्ता गरिरहेको वडाध्यक्ष राईले बताए । 

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । हुर्लुङ-जालपा सडक स्विस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो । सो सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ ।


Author

थप समाचार
x