कोशी

कोसीको बहाव खतरातिर, बेलकाका थप बस्ती डुबानमा

बाबुराम भण्डारी |
साउन २१, २०७९ शनिबार १८:५८ बजे

विराटनगर- सप्तकोसी नदीको जल स्तर अस्वभाविक रुपमा माथि आएपछि बाढी प्रभावित बेलका नगरपालिकाका विभिन्न वडामा डुबान बढेको छ । गत बुधबार विहान ४ बजे बेलका-८ डुम्रिबोटेबाट पश्चिमी तटबन्ध फुटाएर बेलका नगरपालिकाको बस्तीमा पसेको सप्तकोसीको बहाव शनिबार झन बढेकोले थप बस्तीहरु डुबानमा परेका हुन् ।


बस्तीमा बाढीको पानी पसेपछि सुरक्षित स्थानको खोजीमा वडा नम्बर २ स्थित शान्ति नगर पुगेका स्थानीयहरु त्यहाँ समेत डुबान हुन थालेपछि थप उद्धारको पर्खाइमा छन् । उनीहरुले सुरक्षित स्थान भनेर घरका सरसामान राखेको शान्ति नगरमा डुबान भइरहेको स्थानीय जानकारी दिए ।

डुम्रिबोटेस्थित पश्चिमी तटबन्ध कटान गरी बेलकातर्फ पसेको कोसीमा अहिलेसम्मकै धेरै पानी बगेको जनाइएको छ । जसका कारण तल्लो तटीय क्षेत्रमा पानीको सतह बढेर थप बस्तीहरु डुबाउन थालेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले कोसी फुटेको स्थानबाट अहिलेसम्मकै धेरै पानी पसेका कारण डुबान बढेको बताए । उनले अहिलेसम्म पानी नपसेको वडा नम्बर २ को बुधबारे हटिया र शान्ति नगर टोलमा डुबान हुन थालेको बताए ।

‘फुटेको ठाउँबाट पानीको झन धेरै आएको छ, वडा नम्बर ३ र २ को सिमानामा पर्ने बुधबारे हटियामा डुबान हुन थालेको छ,’ उनले भने, ‘स्थानीयले तत्कालै बस्ती छाड्नका लागि आग्रह गरिएको छ, चारवटा डुंंगाबाट उनीहरुको उद्धार भइरहेको छ ।’

उनले वडा नम्बरको एकता टोल, एबिसी टप्पु र सिर्जना टोलबाट समेत मान्छेहरु विस्थापित भइरहेको जानकारी दिए । वडाध्यक्ष आचार्यले बाढी प्रभावित क्षेत्रमा समेत भारी वर्षा भइरहेकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।

डुबान बढि रहेपनि घरमा रहेका चौपाया र पशुपंक्षी जोगाउन भन्दै पुरुष व्यक्तिहरुले भने घर छाड्न मानेका छैनन् । जसका कारण उद्धारमा समस्या भइरहेको उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । उनीहरुलाई सम्झाएर सुरक्षित स्थानमा लैजाने प्रयास भइरहेको जानकारी दिए ।

बाढी पछिको डुबानका कारण उदयपुरको बेलका नगरपालिका-८, ३, ९, २ र १ का २० हजार र सुनसरीको सप्तकोसी नगरपालिका-६ र ९ का करिब ५ हजार व्यक्तिहरु प्रभावित भएका छन् ।

कोसीमा पानीको बहाव खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बेलुकासम्म सुनसरीको चतरास्थित जल सतह मापन केन्द्रमा कोसीको बहाव ७ मिटर माथि मापन भएको छ । विभागका अनुसार कोसीमा पानीको सतह ६ मिटरसम्म पुग्दा सतर्कताको तह र ७ मिटर पुगेपछि खतराको तहमा प्रवेश गरेको मानिन्छ ।

कोसीमा मिसिने मुख्य बहाव भएका नदीका क्षेत्रहरुमा पानी पर्न रोकिएको छैन । जसका कारण सप्तकोसीमा पानीको सतह बढेर खतराको तहमा आइपुगेको जनाइएको छ । कोसीमा पानीको सतह बढेपछि सुनसरी र सप्तरी प्रशासनले समेत तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

कोसीको जल स्तरमा अस्वभाविक वृद्धि भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जोखिम बढेकाले उद्धारका लागि स्रोत साधन तयारी अवस्थामा राखिएको जानकारी दिए । कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ५० हजार क्युसेक नजिक पुगेकाले खतरा बढेको जनाइएको छ । बहाव बढेका कारण शनिबार बेलुका ५२ मध्ये ३२ वटा ढोका खुल्ला रहेको सुनसरी प्रशासनले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x