कोशी

सडक कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको दबाब

इकागज |
साउन २१, २०७९ शनिबार २०:४५ बजे

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दबाब दिएका छन् । उदयपुरको गाईघाट-दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तीव्र गतिमा गर्न दबाब दिएका हुन् । 

शनिबार काठमाडौंमा भएको भेटमा अधिकारीले अविलम्ब कालोपत्रेको काम अघि बढाउने र चाँडो काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष राईले सडक कालोपत्रेका क्रममा कामदारले लामो समयसम्म भुक्तानी नपाएको विषयमा पनि प्रश्न उठाएका थिए । 


२०७७ साल असारमा पुरा गर्नेगरी भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी तथा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सडक कालोपत्रेको काम अलपत्र छ । महुरे-फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भन्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।

भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे-राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । 

यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भन्ज्याङ-फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला सडकमा वर्षामा हिलाम्मे र हिउँदमा बुङबुङ धुलो उड्ने गरेको छ । महुरे-फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ ।


Author

थप समाचार
x