कोशी

बेलकाका कोसी पीडितलाई तत्कालै राहत दिन सांसदहरुको माग

इकागज |
साउन २२, २०७९ आइतवार १६:२८ बजे

विराटनगर । कोसीको पश्चिमी तटबन्ध फुटेर डुबानमा परेका उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका स्थानीयलाई तत्कालै राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।

आइतबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा एमालेका सचेतक तथा प्रदेश सांसद बिमल कार्कीले कोसीको कटानपछिको डुबानले बेलकामा मात्रै १ हजार बढी घरपरिवारका २० हजार जनसंख्या प्रभावित भएको र एक हजार बढि नागरिक विस्थापित भएको बताए ।


उनले साउन १८ गते बुधबार कोसीले तटबन्ध भत्काएर बस्ती डुबान भएपछि विस्थापित नागरिकलाई तत्कालै राहत व्यवस्था गरी आफ्नो घर फर्किने वातावरण बनाउन माग गरे । साथै कोसी नदीको बहावले निर्माण गरेका एविसी टप्पु, सिसौली, चिलिया टप्पु र श्रीलंका टप्पुमा बसोबास गर्ने मानिसहरुलाई बसोबासको सुनिश्चितता गर्दै ती टप्पुहरुलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सरकारले पहल गर्नुपर्ने बताए ।

उदयपुरकै सांसद सुनिता चौधरीले सप्तकोसीको बाढीले बेलका नगरपालिकाको वडा नम्बर १, २, ३ ८ र ९ मा मानिसहरु विस्थापित भएको र विस्थापितहरु मध्ये गर्भवती महिलाहरुलाई तुरुन्तै उद्दारको खाँचो रहेको बताइन् । साथै विस्थापितहरुलाई राहतको व्यवस्था गर्न माग गरिन् । उनले कटान भएको क्षेत्रमा तुरुन्तै बाँध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


Author

थप समाचार
x