कोशी

नवौं राष्ट्रिय खेलकुद तयारी

‘प्रदेश सरकारले पैसा दिएन भने जनतासँग एक/एक रुपैयाँ माग्छु’

बाबुराम भण्डारी |
साउन २६, २०७९ बिहिवार १८:४४ बजे

विराटनगर- नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सातौं स्थानमा सीमित बनेको प्रदेश १ लाई आगामी गण्डकी प्रदेशको पोखरामा तय भएको नवौं राष्ट्रिय प्रतियोगितामा पदकमा उल्लेख्य सुधार गर्नुपर्ने चुनौती छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ ।

आगामी भदौ १९ गतेसम्ममा जिल्ला छनौट हुँदै प्रदेशसम्मको छनौट सक्ने प्रदेश खेलकुद विकास बोर्डको योजना छ । प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगितासम्मको सहभागिताका लागि बोर्डले करिब ९ करोड १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेर सरकार समक्ष आर्थिक प्रस्ताव बुझाए पनि प्रदेश सरकारले भने जम्माजम्मी ५० लाख रुपैयाँ विनियोजन गरेपछि जिल्लाकै छनौट चरण सम्पन्न गर्न अहिले बोर्डलाई चुनौति थपिएको छ । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने ३६ विधाका खेलमा प्रदेश १ ले ३४ खेलमा प्रतिष्पर्धा गर्ने निश्चित भइसकेको छ ।


विगतका प्रतियोगितामा उल्लेख्य नजिता ल्याउन नसकेको प्रदेश १ लाई नवौं मा एक प्रतिशत भएपनि नजिता सुधार्नुपर्ने चुनौती छ । त्यसका लागि जिल्ला तहमै ३४ हजार खेलाडीहरूबीच हुने प्रतिस्पर्धाबाट प्रदेश स्तरको छनौटमा ५ हजार ६०० खेलाडी आइपुग्ने र उनीहरुबीचको प्रतिस्पर्धाबाट राष्ट्रिय प्रतियोगिताका लागि ६९४ जना खेलाडी छान्‍ने तालिका प्रदेश खेलकुद विकास बोर्डले तय गरेको छ ।

बोर्डका सदस्य सचिव हंशराज वाग्ले भने यत्रो प्रतियोगितामा राम्रा खेलाडीहरूको छनौट र सहभागिताका लागि सरकारले पर्याप्त बजेट नदिएको गुनासो गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला तहको छनौटदेखि पोखरासम्म खेलाडी, अफिसियल र व्यवस्थापक टोलीको व्यवस्थापनमै ९ करोड बढी रकम लाग्‍ने बताए ।

तर सरकारले भने अत्यन्तै न्यून बजेट विनियोजन गरेका कारण प्रतियोगिताको छनौट चरण नै प्रभावित हुने संकेत गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले कोभिड-१९ का कारण क्यालेन्डरभन्दा दुई वर्षपछि गर्न लागेको प्रतियोगितामा प्रदेश १ को सहभागिता र पदकको सुनिश्चितताका लागि गर्नुपर्ने पूर्व तयारी बजेटकै कारण प्रभावित हुनसक्ने वाग्लेले बताए । ‘पर्याप्त बजेट पाउन सकेका छैनौं, ९ करोड १२ लाख रुपैयाँ लाग्‍ने अनुमान गरेका छौं तर सरकारले जम्मा ५० लाख रुपैयाँ छुट्याएको छ, राखेपले प्रदेशलाई दिने थप ४९ लाख बाहेक हामीसँग बजेट छैन,’ उनले भने, ‘बन्द प्रशिक्षणको तयारीतिर ध्यान दिनुपर्नेमा न्यूनतम् बजेटकै लागि कुद्नुपर्ने अवस्था बनेको छ ।’

उनले बजेटकै अभावमा खेलाडी छनौटको तयारी राम्ररी अघि बढाउन नसकेकाले राष्ट्रिय प्रतियोगितामा प्राप्त गर्ने नतिजाको लक्ष्य निर्धारण गर्न नसकिएको बताए । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले जम्मा ९ स्वर्ण, २० रजत र ५९ कास्य पदक प्राप्त गरेकोमा नवौंमा स्वर्ण संख्या १५ कटाउनका लागि पहिलो प्रयास गरिने सदस्य सचिव वाग्ले जानकारी दिए ।

प्रतियोगिताको तयारीका लागि बजेटकै अभाव रहेको भन्दै उनले आफूले जसरी पनि प्रदेश १ लाई राम्रो नजिता तालिकामा पुर्‍याउने र बरु त्यसका लागि सर्वसाधारणसँग १/१ रुपैयाँ चन्दा माग्‍न पनि तयार रहेको घोषणा गरे । ‘यो प्रतियोगिता राखेपको क्यालेन्डरको गेम हो, यसैबाट उत्कृष्ट भएका खेलाडीहरूले आगामी साफ र ओलम्पिकसम्म पुग्‍ने सम्भावना रहन्छ, अहिले १४ वटै जिल्लामा छनौट सुरु भइरहेको छ,’ वाग्ले भने, ‘गत प्रतियोगिताहरु भन्दा हामी राम्रो नतिजाको तयारीमा छौं, तर यत्रो प्रतियोगिताको तयारीका लागि हामीलाई बजेटको ठूलो अभाव छ, केही लागेन भने जनतासँग १/१ रुपैयाँ माग्‍न तयार छु, जसरी पनि प्रदेश १ ले जित्नुपर्छ भन्‍ने सोच राखेर अघि बढ्छु ।’

वाग्ले नेकपा एकीकृत समाजवादी (एस) को कोटाबाट प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए । विभागीय मन्त्रालय सामाजिक विकास मन्त्रालय पनि नेकपा (एस) कै भागमा परेको र पार्टीका केन्द्रीय सदस्य राजन राई उक्त मन्त्रालयको मन्त्री रहेका छन् । त्यही पार्टीको ओखलढुंगा अध्यक्ष समेत रहेका वाग्लेले सरकारले कुनैपनि राजनीतिक विषयलाई नहेरिकन बोर्डलाई बजेट दिनुपर्ने बताए ।

उनले सरकारले बजेट दिए प्रदेश १ को पदक नतिजामा सुधार ल्याउने दाबी गरेपनि प्रदेश स्तरको छनौटबाट आएका खेलाडीलाई बन्द प्रशिक्षणको समय भने अत्यन्तै कम हुने देखिएको छ । भदौ १९ सम्ममा सकिने दाबी गरिएको प्रदेश १ स्तरीय छनौट समयमै सकिए नवौं राष्ट्रिय प्रतियोगितासम्म करिब एक महिना बन्द प्रशिक्षण हुनसक्ने सम्भावना रहेको छ । तर, बजेटकै अभावमा छनौट चरणकै प्रतियोगिताहरू प्रभावित हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x