कोशी

बिर्तामोडको फोहाेर निजी जग्गामा व्यवस्थापन गरिने

इकागज |
साउन ३०, २०७९ सोमबार १४:३४ बजे

फाइल तस्बिर

बनियानी- केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहाेर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहाेर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहाेर उठ्ने भएको हो । 

नगरमा उत्पादित फोहाेर तत्कालका लागि बिर्तामोड-८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहाेर आजदेखि नै उठाइने उनले बताए । बिर्तामोडमा फोहाेर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ । 


सर्वदलीय बैठकमार्फत फोहाेर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी र सरोकारवालाले आवश्यक सहयोग/समन्वय गर्ने निर्णय भएको नगरप्रमुख पवित्रा महताराले बताइन् । फोहाेर विसर्जनस्थलसम्म जाने सडकको स्तरोन्नति, तटबन्ध र सडक बत्ती जडानलगायत नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।

बिर्तामोड-७ स्थित सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी फोहाेर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन, फोहाेर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति तथा कनकाई-अर्जुन-बिर्ता नवीकरणीय ऊर्जा कम्पनीमार्फत फोहाेरबाट ऊर्जा र मल उत्पादन गर्ने कार्यमा साझेदारी गर्ने निर्णय गरिएको छ ।

कुहिने र नकुहिने फोहाेर वर्गीकरण गर्न नगरका सबै घर परिवार तथा व्यावसायिक प्रतिष्ठानलाई आह्वान गरिएको छ । वर्गीकरण नभएको फोहाेर सङ्कलन नगर्ने कार्ययोजना बनाएर लागू गर्ने, फोहाेर सङ्कलन, ढुवानी र विसर्जन गर्ने कार्यमा अवरोध पुर्‍याउनेलाई कारबाही गर्ने तथा फोहाेर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी पुनर्गठन गरिने भएको छ ।


Author

थप समाचार
x