कोशी

विपद्‍मा व्यवसायलाई निरन्तरता दिन रणनीति बनाउनुपर्नेमा जोड

इकागज |
साउन ३०, २०७९ सोमबार १८:१४ बजे

विराटनगर - विपद् र प्रकोपका कारण हुने क्षतिबाट बच्न उद्योग तथा व्यवसायिक क्षेत्रले आवश्यक योजना नबनाएका कारण बर्षेनी ठुलो क्षति व्यहोर्नु परेको भन्दै त्यसबाट बच्न उद्योगी व्यवसायीहरुले रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको आयोजनामा सोमबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमुखीकरण कार्यक्रममा विपद्कै कारण व्यवसायको निरन्तरताका लागि पर्नसक्ने अप्ठेरो र दीर्घकालिन असरबाट बच्न व्यवसायिक क्षेत्रलाई रणनीति तयार गर्नुपर्नेमा जोड दिइएको हो । 


नेपाल भूकम्पीय जोखिममा विश्वको ११ औं र चट्याङको प्रकोपबाट हुने जोखिमा ५औं स्थानमा रहेको भन्दै ठुला विपद्का कारण ठुला व्यवसायिक क्षेत्र ४० प्रतिशतसम्म निष्प्रभावी हुने जनाइएको छ । त्यस्तो विपद्पछिको २ बर्षभित्र व्यवसायिक क्षेत्रलाई आवश्यक टेवा दिन नसके थप २० प्रतिशत व्यवसाय बन्द हुने कार्यक्रममा जनाइएको छ ।

विपद्को समयमा पनि व्यवसायिक क्षेत्रले निरन्तरता पाएको खण्डमा भने त्यहाँ काम गर्ने श्रमिक तथा कर्मचारीहरुको जीवनको सुरक्षा, घाटा कम हुने, विश्वसनीयता र प्रतिष्ठामा बृद्धि हुने, प्रतिस्पर्धात्मक वित्तीय लाभ प्राप्त हुने र सामाजिक उत्तरदायित्व समेत सहजै पुरा हुने विज्ञहरुले जानकारी दिए ।

नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ अधिकृत रजनी नेपाल र एसिया प्यासिफिक एलायन्सका विपद् हेर्ने कन्ट्री डाइरेक्टर ताई कामीकुराले विपद्को बेलामा व्यवसायिक क्षेत्रको निरन्तरता चुनौतीपूर्ण रहेको बताए । 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्ले भइरहेका विद्यमान व्यवस्था र सन्तुलनलाई असर पुर्‍याउने तथा त्यसको प्रभावबाट निजी क्षेत्र प्रत्यक्ष प्रभावित हुने बताए । उनले विपद् अघि नै जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक उपायहरूको खोजी गर्नुपर्ने सुझाव दिए । 

विपद्बाट हुने जोखिमको असरलाई एउटै निकायले मात्रै बोक्न नसक्ने भएकोले जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको दायित्व समान रहने सचिव पराजुलीले उल्लेख गरे । उनले प्रदेश १ सरकारले चालु आर्थिक बर्षमा विपद्को जोखिम न्यूनीकरण, राहत तथा उद्दारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले विपद्पश्चात मुलुकको अर्थतन्त्र नै प्रभावित हुने भएकोले उद्योगी व्यवसायिक क्षेत्रलाई पर्याप्त ज्ञान र सीप आवश्यक हुनुपर्ने बताए । उनले उद्योगहरूले विपद् जोखिम न्यूनीकरणका लागि योजना बनाएर काम गर्नुपर्ने बताए ।

उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका सभापति किशोर प्रधानले विपद्को समयमा उद्योगहरुलाई बचाउनका व्यवसायीहरु नै बढी सजग हुनुपर्ने बताए । अभिमुखीकरणका माध्यमबाट व्यवसायिक र अन्य सरोकारवाला क्षेत्रलाई महासंघले सहजीकरण गरिरहेको जानकारी दिए । 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले विपद्को बेलामा अन्य निकायहरु भन्दा पहिले राज्य तयार हुनुपर्ने बताए । उनले विपद्अघि नै गरिने तयारीले जोखिम न्यूनीकरणमा मद्दत पुर्‍याउने दाबी गरे । साथै निजी क्षेत्रले समेत विपद्को समयमा सहयोग गर्दै आइरहेकोले सरकारसँगको सम्बन्ध सकारात्मक हुनुपर्ने उनले बताए ।

महासंघ प्रदेश समितिका अध्यक्ष टिकाराज ढकालले विपद्को समयमा धनजनको क्षति बढ्ने भएकोले जोखिम पूर्वतयारी र असरको विश्लेषण गरेर मात्रै उद्योग व्यवसाय क्षेत्रको संचालन रणनीति बन्नुपर्ने सुझाव दिए । उनले विपद्पछि उद्योगधन्दा धरासायी हुने र त्यसबाट राज्यले राजश्वसमेत गुमाउने भन्दै सरकारले हरेक समयमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए ।
 


Author

थप समाचार
x