कोशी

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्य

बाबुराम भण्डारी |
साउन ३१, २०७९ मंगलबार १७:२९ बजे

विराटनगर- अदालतप्रति नागरिकको जनआस्था बढाउन न्याय प्रणालीलाई छिटो र सरल बनाउँदै लैजाने अभियान अन्तरगत उच्च अदालत विराटनगरले अघिल्लो आर्थिक वर्षमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको छ । मुद्दाको संख्या उच्च रहेका मुलुकभरका सातवटा उच्च अदालतहरू मध्ये उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७७-७८ बाटै जिम्मेवारी सरेर आएका दुई वर्षको समय नाघ्‍ने ५६६ वटा मुद्दालाई गत आर्थिक वर्ष २०७८-७९ मा फर्छ्यौट गर्न सफल भएको हो ।

उच्च अदालत विराटनगरले मंगलबार सुरक्षाकर्मीहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले आव २०७८-७९ मा जिम्मेवारी सरेर आएका कूल १ हजार ५५३ र नयाँ दर्ता भएका ३ हजार ४४९ गरी ५ हजार २ वटा मुद्दाहरु मध्ये ६० दशमलव ४५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए । जसमध्ये दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारिएको उनले बताए । उनले दुई वर्ष नाघेका मुद्दा मात्रै नभई कूल मुद्दा फर्छ्यौटमा समेत उच्च अदालत विराटनगरले सबैभन्दा धेरै ६० प्रतिशत प्रगति हासिल गरेको दाबी गरे ।


दुई नाघेका सबैभन्दा बढी मुद्दा उच्च अदालत पाटनमा १ हजार २६ वटा रहेको जनाइएको छ । त्यसपछि वीरगञ्ज इजलासमा २४७, उच्च अदालत जनकपुरमा १७९, राजविराज इजलासमा १७१, नेपालगञ्ज इजलासमा १८ र बुटवल इजलासमा १३ वटा मुद्दा दुई वर्ष म्याद नाघेको उच्च अदालत विराटनगरका रजिष्ट्रार थपलियाले बताए ।

तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले ‘उच्च अदालत कस्तो, विराटनगर जस्तो’ भन्ने नाराका साथ सुरु गरेको अदालत सुधार अभियान अन्तरगत उच्च अदालत विराटनगरले आव २०७८-७९ मा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्य बनाउन सफल भएको हो । तत्कालीन मुख्य न्यायाधीश श्रेष्ठ पाँच महिनाअघि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर गएका थिए ।

उनले आर्थिक वर्ष २०७७-७८ मा एक्लैले ७०३ वटा मुद्दाको फैसला गरेर मुलुकभरका उच्च अदालत र त्यस अन्तर्गतका इजलासमा कार्यरत न्यायाधीशहरू मध्ये सबैभन्दा बढी मुद्दा फैसला गर्ने रेकर्ड बनाएका थिए । सोही आर्थिक वर्षदेखि उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारिएको थियो भने अघिल्लो आवमा समेत त्यसलाई निरन्तरता दिन सफल भएको हो ।

अघिल्लो आवमा उच्च अदालत विराटनगरमा रहेका कूल ५ हजार २ वटा मुद्दाहरु मध्ये मुख्य न्यायाधीश श्रेष्ठ एक्लैले सबैभन्दा बढी ७३२ वटा मुद्दा फैसला गरेका छन् । त्यसपछि सबैभन्दा धेरै न्यायाधीश मिलनकुमार राईले ६७२, न्यायाधीश मुरारी बाबु श्रेष्ठले ६३५ र न्यायाधीश कृष्ण कमल अधिकारीले ५६९ वटा मुद्दाको फैसला गरेका छन् ।

उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले १२ जना न्यायाधीश रहनुपर्ने भएपनि हाल ९ जना न्यायाधीशहरूबाटै विराटनगर उच्च अदालतलाई मुद्दा फर्छ्योटमा नमुनाका रुपमा प्रगति हासिल गरेको बताए । उनले कार्यरत न्यायाधीशको संख्याको आधारमा ठूलो सफलता प्राप्त गरेको दाबी गरे ।

मुद्दाको फैसलाका लागि उच्च अदालत विराटनगरमा मुद्दा फर्छ्यौट अभियान शाखा नै सिर्जना गरिएको थियो । उक्त शाखाले दुई वर्ष नाघेका मुद्दाको अभिलेख बनाएर फर्छ्यौटलाई तीव्रता दिएको रजिष्ट्रार थपलियाले जानकारी दिए । साथै २०८० साल असार मसान्तसम्म १८ महिना नाघ्ने मुद्दाको व्यवस्थापनका लागि समेत छुट्टै अभियान फाँटको व्यवस्था गरिएको जनाइएको छ ।

कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाले अदालतप्रतिको आस्था टिकाइराख्‍ने कुरामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले अदालतसम्बन्धी धेरै समाचारहरू तथ्यपरक आउने गरेको र नबुझिएका अदालती मामिलाहरूमा सञ्चारकर्मीहरूले समेत सहजताका साथ समन्वय गरेर काम गर्न सक्ने बताए ।

न्यायाधीश थापाले चालू आर्थिक वर्षमा करिब ५ हजार १०० वटा मुद्दा आउन सक्ने अनुमानका आधारमा त्यसको ६५ प्रतिशत मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको बताए । जसमध्ये चालू आवको साउन २९ गतेसम्म कायम रहेका २ हजार २८७ वटा मुद्दाहरू मध्ये ५ प्रतिशत अर्थात ११५ वटा मुद्दा फर्छ्यौट गरिसकेको जानकारी दिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x