कोशी

इलाममा सिसाको पुलसहितको साइकलमार्ग निर्माण हुने

इकागज |
साउन ३१, २०७९ मंगलबार १८:२२ बजे

इलाम - इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकलमार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकलमार्ग निर्माण गर्ने भएको हो । सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि ऐतिहासिक खलङ्गा रहेको पूर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुने बताइएको छ ।

 सुरुमा परियोजनाको कूल लागत सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत १० करोड पुग्ने छ । सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ । एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउने छन् । 


नगरपालिकाको सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवद्र्धन साझेदारी कोषको एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको एक करोड लागतमा साइकलमार्ग निर्माण हुनेछ ।

 गत जेठ ११ गते नगरपालिका र नवप्रवद्र्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिए । 

परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण गरिने गदालको भनाइ छ । साथै लोपोन्मुख लेप्चाजातिको सङ्ग्रहालय स्थापना गरिने छ । परियोजनाको मन्युमेन्ट पार्क, हेल्थ पार्क र चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ ।

साइकल मार्ग जिल्लाकै नयाँ परियोजना भएको बताइएको छ । जिल्लामै पर्यटकका लागि नयाँ उत्पादनका रूपमा विकास गर्न सकिने यो कार्यक्रमलाई नगरपालिकाले नै सञ्चालन गर्ने बताइएको छ । यो साइकलमार्ग निर्माण भएपछि नेपाली साइकलयात्री मात्र नभई विदेशबाट समेत पर्यटकहरु यहाँ आउने अपेक्षा गरिएको छ । 
रासस


Author

थप समाचार
x