कोशी

प्रदेशसभा निर्वाचन

मोरङमा एमालेबाट चार मन्त्रीसहित ६ सांसद दोस्रो कार्यकाललाई पनि आकांक्षी

प्रत्यक्षमा ९५, समानुपातिकमा १३७ सिफारिस

बाबुराम भण्डारी |
भदौ १९, २०७९ आइतवार ७:२६ बजे

विराटनगर- मोरङको ६ वटा निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभाका १२ वटा क्षेत्रमा नेकपा एमालेबाट प्रदेशको सरकारमा मन्त्री भइसकेका चार जनासहित प्रदेशसभाका ६ जना वर्तमान प्रदेश सांसदले दोस्रो कार्यकालका सिफारिस भएका छन् । उनीहरूसहित मोरङमा प्रत्यक्षतर्फ ९५ जना आकांक्षीहरूको नाम प्रदेश समन्वय कमिटीहरूले सिफारिस गरेको हो । एमालेबाट १२ वटै प्रदेशसभा क्षेत्रमा समानुपातिकतर्फ भने जम्मा १३७ जना सिफारिस भएका छन् ।

एमालेको प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रदेशसभाका १२ वटै क्षेत्रका आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरिसकेको हो । वर्तमान् प्रदेशसभाको सदस्य रहेर मन्त्री बनिसकेका चार जना प्रत्यक्ष निर्वाचित सांसद पुनः दोस्रो कार्यकाललाई आकांक्षी बनेका छन् । त्यस्तै दुई समानुपातिक सांसदहरूले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा देखाएका हुन् ।


क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) बाट राजकुमार ओझा, ४ को प्रदेशसभा (ख) बाट जीवन घिमिरे, २ को प्रदेश (ख) बाट लिलाबल्लभ अधिकारी र क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) बाट ज्ञानेश्वर राजवंशीको नाम सिफारिस भएको जनाइएको छ । उनीहरू चारै जना प्रदेश १ को मन्त्री भइसकेका छन् ।

त्यस्तै एमालेबाट समानुपातिकतर्फका सांसदहरू बसन्तीदेवी यादव र यशोदा अधिकारीले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा प्रस्तुत गरेका छन् । उनीहरूको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको एमालेले जनाएको छ । सांसद यशोदा अधिकारी अहिले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको उपनेता रहेकी छन् ।

सिफारिस अनुसार आगामी प्रदेशसभा निर्वाचनमा एमालेका केही चर्चित व्यक्तिहरू पनि आकांक्षीका रुपमा देखिएका हुन् । क्षेत्र नम्बर ६ को (क)बाट स्थायी कमिटी सदस्य एवं पुराना एमाले नेता गुरु बरालको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । ६ कै प्रदेशसभा (ख) बाट युवा नेता पर्शुराम बस्नेत पनि छन् ।

कम्युनिस्ट राजनीतिमा करिब ५० वर्षदेखि अनवरत रुपमा सक्रिय बराल भने समाजलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा व्याख्या गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । उनलाई प्रदेश १ को भावी मुख्यमन्त्रीका रुपमा समेत अघि सारेको एमालेवृत्तभित्र चर्चा छ । बराल यसअघि राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथामा कांग्रेसका उम्मेदवार गोपाल थापासँग पराजित भएका थिए । 
एमालेको १२ वटै प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीहरूको नाम सिफारिस गरेको हो । मंसिर ४ मा हुन लागेको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ को क्षेत्र (क) मा ११ र क्षेत्र (ख) मा १३ जना गरी सबैभन्दा बढि २४ जना आकांक्षी देखिएका हुन् ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तरगत एमाले मोरङका सचिव रुपेश खतिवडासहित ७ जनाको नाम प्रत्यक्षमा र ४ जनाको नाम समानुपातिक सूचीमा सिफारिस भएको छ । क्षेत्रीय समन्वय कमिटीले खतिवडासहित उमाकान्त गौतम, पुष्प ढकाल, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिस गरेको हो । आचार्य मिक्लाजुङ गाउँपालिकाका पुर्व अध्यक्ष समेत हुन् । उक्त क्षेत्रबाट समानुपातिकमा ४ जनाको नाम सिफारिस भएको जनाइएको छ ।

त्यसैगरी १ को (ख) मा प्रत्यक्षतर्फ खड्ग बहादुर बस्नेत, डिल्ली बहादुर अधिकारी, बुद्धिमान लिम्बु रहेका छन् । बस्नेत पुर्व जिविस सभापति हुन् भने अधिकारी उत्तरी मोरङमा चर्चित पर्यटन व्यवसायी हुन् । उक्त क्षेत्रमा समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट ९ जनाको नाम सिफारिस भएको छ । प्रदेश समन्वय कमिटीले मेघराज कट्टेल, डिबी कार्की, विष्णु पोखरेल, सुभाष पौडेल, वसन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरि पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस गरेको जनाइएको छ । उक्त क्षेत्रमा समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरेको हो ।

२ कै प्रदेशसभा (ख) मा वर्तमान प्रदेशसभा सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जना सिफारिस भएका छन् । सो क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, दिल्ली दाहाल, इल्जा राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुईंटेल र गोपाल थापाको नाम सिफारिस भएको जनाइएको छ । समानुपातिकतर्फ ४ जना सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा पथरीशनिश्चरे नगरपालिकाका पुर्वमेयर किशोर राई (दिलिप) र कानेपोखरी गाउँपालिकाका पुर्वअध्यक्ष ताराबहादुर काफ्लेसहित ११ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । नाम सिफारिस हुनेहरूमा देवराज भण्डारी, रामकुमार बस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, पर्शुराम मिश्र, विजय डाँगी, रविन थापा र नरेन्द्र कुमार खड्का रहेका छन् । समानुपातिकतर्फ भने ९ जनाको नाम सिफारिस भएको जनाइएको छ ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा १३ जनाको नाम सिफारिस प्रत्यक्षतर्फ सिफारिस भएको छ । नाम सिफारिस हुनेहरूमा वर्तमान प्रदेश सांसद एवं पुर्वराज्यमन्त्री राजकुमार ओझा र बेलबारी नगरपालिकाका पुर्वमेयर ज्ञानेन्द्र सुवेदी मुख्य दाबेदारका रुपमा देखिएका छन् । त्यसैगरी उक्त क्षेत्रबाट सुजन गौतम, भक्तकिरण राई, सुदन चौहान, राजन अर्याल (बद्री), संजीव रोक्का, लिलाप्रसाद आचार्य, राजकुमार बस्नेत, सुरेन्द्र बहादुर थापा, किरण कुमार राई, तारादेवी शाक्य र सुजित कुमार बस्नेतको नाम सिफारिस भएको प्रदेश (ख) क्षेत्रीय समन्वय कमिटीका सचिव राम लुईंटेलले जानकारी दिए ।

समानुपातिकतर्फ भने २० जनाको नाम सिफारिस भएको जनाइएको छ । क्षेत्र नम्बर ४ अन्तरगत प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नरेन्द्र बस्नेत, मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविन कुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपानेसहित ७ जना रहेका छन् । उक्त क्षेत्रबाट समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस भएको जनाइएको छ ।

क्षेत्र नम्बर ४ कै प्रदेशसभा (ख) मा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित ७ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले घिमिरेसहित ईश्वर प्रसाद निरौला, कौशिला बन्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारीको नाम सिफारिस गरेको जनाइएको छ । घिमिरेले भावी मुख्यमन्त्रीका रुपमा आफुलाई अघि सार्दै आएका छन् । कार्की हाल नेकपा एमाले मोरङको उपाध्यक्ष हुन् । समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको समन्वय कमिटीले जनाएको छ । 

क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) तर्फ वर्तमान् प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशीसहित ४ जनाको नाम सिफारिस भएको हो । प्रत्यक्षतर्फ राजवंशीसहित सन्तोष साह, राजेन्द्र मण्डल र प्रदीप मण्डलको नाम सिफारिस भएको जनाइएको छ । त्यसैगरी समानुपातिक १२ जना सिफारिस छ ।

५ कै प्रदेशसभा (ख) तर्फ क्षेत्रीय समन्वय कमिटीको शनिबार बसेको बैठकले वर्तमान प्रदेशसभा सदस्य बसन्तीदेवी यादवसहित ७ जनाको नाम पहिलो चरणमा सिफारिस गरेको छ । सिफारिस हुने अन्यमा प्रदेश कमिटी सदस्य विक्रम तिवारी, मिनादेवी यादव, निजाम सेख, दिलसाद आलम, भुराज राई र रामचन्द्र महतोको नाम सिफारिस गरेको जनाइएको छ । उक्त क्षेत्रमा समानुपतिकतर्फ १४ 
जनाको सूची तयार पारेको जनाइएको छ । यस क्षेत्रमा आइतबार पुनः बस्ने बैठकले अन्तिम सिफारिस तयार गरी जिल्ला कमिटीमा पठाउने जनाइएको छ ।

क्षेत्र नम्बर ६ को (क) मा नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका गुरु बरालसहित ११ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । बरालसहित सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर ६ कै प्रदेशसभा (ख) मा वर्तमान समानुपातिकतर्फका वर्तमान प्रदेश सांसद यशोदा अधिकारीसहित रमेश पोखरेल, पर्शुराम बस्नेत, राधेश्याम कट्टेल, रोहित कोइरला, दिनानाथ भगत र शिव थापा गरी ७ जनाको सिफारिस भएको छ । पोखरेल अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा पराजित भएका थिए । उक्त क्षेत्रबाट समानुपातिकमा १७ जनाको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ ।

सिफारिस भएका नामहरूमाथि एमाले मोरङको जिल्ला कमिटीमा छलफल गरी प्रदेश कमिटीलाई कैफियतसहित लेखेर पठाइने जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x