कोशी

कर्मचारीले असहयाेग गरेको प्रदेश १ का स्वास्थ्यमन्त्री यादवको आरोप

इकागज |
असोज ७, २०७९ शुक्रबार २१:२ बजे

विराटनगर- प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरूले काम गर्न नसकेको आरोप लगाएका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने गरी सरकारले अलग्गै मन्त्रालय गठन गरेर काम गर्न खोजेपनि कर्मचारीहरूले साथ नदिएको आरोप लगाएका हुन् ।

शुक्रबार मन्त्रालयकै आयोजनामा स्वास्थ्य निर्देशनालयको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले कर्मचारीहरूले आफूले सोचेजस्तो गरी काम नगरेकोमा चिन्ता व्यक्त गरे । कर्मचारीले काम नगरेकै कारण मन्त्रालयको खर्च प्रगति घटेको उनले बताए । मन्त्री यादवले आफ्नै कार्यकालमा प्रदेशलाई पूर्णखोपयुक्त बनाउने आफ्नो चाहनामा कर्मचारीको असहयोग भएको संकेत गरे ।


'कार्यालयमा जाँदा प्रमुख भेटिँदैनन्, कर्मचारी हुँदैनन्, काम हेर्दा वर्ष दिनभरि केही छैन,’ मन्त्री यादवले भने, ‘प्रदेश १ लाई पूर्णखोपयुक्त प्रदेश बनाउन चाहेपनि आवश्यक सहयोग हुन सकेन, बजेट खर्च घटेको छ, पूर्ण खोप कहिले हुन्छ ? मंसिर ४ पछि गर्ने हो पूर्ण खोप प्रदेश ?’

उनले मन्त्रालयले सोचे जति काम गर्न नसकेकोमा त्यसको दोष कर्मचारीको भएको बताए । कर्मचारीहरूले आवश्यक सहयोग नगरेकै कारण मन्त्रालयले विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै उनले आक्रोश पोखे । उनले अन्य प्रदेशको तुलनामा पनि प्रदेश १ को स्वास्थ्य सूचक कमजोर भएको बताए । त्यसलाई स्वीकारेर काम गर्नुपर्नेमा आफूले सहयोग नपाएको मन्त्री यादवको भनाइ थियो ।


Author

थप समाचार
x