कोशी

विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

इकागज |
असोज ११, २०७९ मंगलबार १५:११ बजे

विराटनगर- विराटनगर प्रवेश गर्ने पर्यटकहरूलाई महत्वपूर्ण गन्तव्यसहितका जानकारी उपलब्ध गराउने र पर्यटनको क्षेत्रसम्वद्ध निकाय तथा पर्यटन व्यवसायीहरूको जानकारी अद्यावधिक राख्न भन्दै विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको पहलमा महासंघकै सचिवालयमा कार्यालय रहने गरी मंगलबार पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । महासंघका केन्द्रीय सदस्य, प्रदेश समितिका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले सूचना केन्द्रको उद्घाटन गरे ।


प्रदेश १ को प्रमुख तीनवटा नाकाहरू मध्ये इलामको पशुपतिनगर र झापाको बिर्तामोडमा हाल नेपाल सरकारले सूचना केन्द्र स्थापना गरेको छ । तर, त्यहाँको पर्यटन सूचना केन्द्रहरू प्रभावकारी रूपमा संचालन हुन नसकेको जनाइएको छ ।

विराटनगरमा स्थापना भएको सूचना केन्द्रले भने पशुपतिनगर र बिर्तामोडसहित विराटनगरको रानी नाकामा पर्यटन डेस्क स्थापना गरी नेपाल आउने पर्यटकहरूलाई सहजीकरण गर्ने जनाइएको छ । सूचना केन्द्रले प्रदेश १ का प्रमुख गन्तव्यहरूको बारेमा जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरूकै जानकारी र विवरण संकलन गर्नेछ ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राउतले प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिँदै हाल रहेका १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए । प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको उनले बताए ।

पर्यटकहरूलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकाले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको उद्योग बाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिका संयोजक भविशकुमार श्रेष्ठले बताए । उनले १४ वटै जिल्लाका पर्यटकीय स्थलहरूको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, साहसिक पर्यटन सम्वद्ध कम्पनीहरू, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरू सूचना केन्द्रमा रहने बताए ।

सूचना केन्द्रमा पर्यटनसम्बन्धी जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तर्गत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको महासंघले जनाएको छ । आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रूपमा संचालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरूसँग समन्वय भइरहेको भनिएको छ ।


Author

थप समाचार
x