कोशी

क्षयरोग लागेका कैदीबन्दी उपचारकै क्रममा फरार

इकागज |
असोज १५, २०७९ शनिबार १६:५७ बजे

विराटनगर- उपचारका लागि झापा कारागारबाट विराटनगर ल्याइएका दुई कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मंजील गुरुङ विराटनगरस्थित क्षयरोग निवारण संस्थाबाट शनिबार बिहान फरार भएको जनाइएको छ ।

दुवै जनालाई क्षयरोग देखिएपछि उपचार गर्ने उद्देश्यले कारागार सारेर विराटनगर कारागार ल्याइएको थियो । उपचारका लागि भर्ना भएका उनीहरू उपचारकै क्रममा भागेको मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।


झापा गाउँपालिका–५ का हेमरम जबरजस्ती करणी मुद्दामा झापा अदालतले २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएपछि कैद भुक्तानका क्रममा थिए ।
झापाकै झापा गाउँपालिका–३ का गुरुङ लागूऔषध मुद्दामा जिल्ला अदालत झापाले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कारागार चलान भएका थिए । दुवैलाई क्षयरोग देखिएपछि झापाबाट मोरङ ल्याइएको थियो ।

क्षयरोग निवारण संस्थाको उपचार कक्षमा राखेर उपचाररत उनीहरू फरार भएपछि मोरङ प्रहरीले दुवैको खोजी गरिरहेको जनाएको छ । साथै त्यहाँ खटाइएको प्रहरी टोलीमाथि समेत अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x