कोशी

साढे ३ वर्ष मुख्यमन्त्री बनेर संघीय चुनाव लड्दै गरेका शेरधन राईले जारी गरे श्वेतपत्र

इकागज |
कात्तिक १३, २०७९ आइतबार १९:१६ बजे

विराटनगर- भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा उठेका प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले आइतबार श्वेतपत्र जारी गरेका छन् । उनले भोजपुर जिल्लामा गरेका कामहरूको समेटेर तयार पारिएको श्वेतपत्र घोरेटारमा सार्वजनिक गरेका हुन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका राई ३ वर्ष ६ महिना ७ दिन प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । प्रदेश स्थापना पछिको पहिलो मुख्यमन्त्री भएर काम गरेका उनले गृह जिल्ला भोजपुरको विकास र पूर्वाधार निर्माणका लागि गरेका कामहरूलाई श्वेतपत्रमा उल्लेख गरेका छन् ।


श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिँचाइ, भवन निर्माण, पर्यटन विकास, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरू र त्यसका लागि विनियोजित बजेटको विवरण उल्लेख गरेका छन् । उनले मुख्यमन्त्री पदमा रहँदा भोजपुरमा करिब साढे चार सय योजना आयोजनाका लागि ४ अर्ब ९२ करोड ३४ हजार रुपैयाँ छुट्याएर खर्च गरेको दाबी गरेका छन् ।

६७ वटा सडक पूर्वाधार आयोजनामा २ अर्ब २७ करोड, तीनवटा बहुवर्षीय सडकतर्फ २ अर्ब ३६ लाख, चारवटा मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा ८ करोड ८८ लाख, ६० वटा अन्य सडकहरूको मर्मत तथा स्तरोन्नतिका लागि १९ करोड ३५ लाख, १२ वटा पुल निर्माणमा ८२ करोड ८३ लाख, १२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएकोमा त्यसका लागि १ करोड ७६ लाख, ६१ वटा खानेपानी आयोजना निर्माण तथा मर्मतका लागि ८२ करोड २५ लाख, ११ वटा लिफ्टिङ खानेपानी आयोजनाका लागि ५१ करोड ४ लाख रुपैयाँ भोजपुर पुर्‍याएको दाबी गरेका छन् ।

त्यसैगरी सिँचाइ आयोजना तथा जल उत्पन्न प्रकोप नियन्त्रणतर्फ  १६ वटा आयोजनामा ४ करोड ६ लाख, ७ वटा सभा भवन तथा सामुदायिक भवन निर्माणमा १३ करोड ७६ लाख, खेल पूर्वाधार कार्यक्रमतर्फ २५ वटा आयोजनामा २८ करोड ९७ लाख रुपैयाँ भोजपुरका लागि विनियोजन भएको पूर्वमुख्यमन्त्री राईले बताए ।

१४२ वटा विद्यालय र भोजपुर क्याम्पसमा गरी जिल्लाभरका विद्यालयहरूमा आइसिटी कक्षा, डिजिटल साक्षरता कार्यक्रम र कम्प्युटर ल्याब स्थापना गर्न १० करोड ३४ लाख, भोजपुर बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी भवन गर्न १ करोड ७६ लाख, आइसिटी कक्षा संचालनका लागि विद्यालयलाई अनुदानतर्फ ८ करोड ५८ लाख, मुन्धुम ट्रेल लगायतका पर्यटन पूर्वाधार विकासका ७२ वटा आयोजनामा ५० करोड ४ लाख रुपैयाँ आफ्नै कार्यकालमा भोजपुर पुगेको उनले बताए ।

त्यसैगरी जनता आवास कार्यक्रमतर्फ ४ करोड १८ लाख, शहरी विकास तथा ढल व्यवस्थापनका लागि १ करोड ५ लाख, निर्वाचन क्षेत्र तथा भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ ४ करोड, प्रहरी लगायत सुरक्षा निकायको भवन निर्माण, भ्यान, मोटरसाइकल खरिदमा करिब १० करोड, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा ५७ वटा कार्यक्रम संचालन गर्न करिब ८ करोड ४० लाख, कृषि तथा वन, भू तथा जलाधार संरक्षण, वन्यजन्तु बासस्थान संरक्षणका ८ वटा कार्यक्रम संचालन गर्न करिब ११ करोड रुपैयाँ भोजपुर जिल्लामा पुगेको पूर्वमुख्यमन्त्री राईले श्वेतपत्रमा उल्लेख गरेका छन् ।

२०७४ फागुन २ गते प्रदेश १ को पहिलो मुख्यमन्त्री नियुक्त भएका राईले २०७८ भदौ १० गते राई राजीनामा दिएर एमालेकै अर्का नेता नेता भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । श्वेतपत्र जारी गर्ने क्रममा भोजपुरमा एमालेबाट प्रदेश सभातर्फ क्षेत्र नम्बर (१) का उम्मेदवार हरिबहादुर राई र (२) का खड्गबहादुर कार्की (प्रेम) समेत उपस्थित थिए ।


Author

थप समाचार
x