कोशी

तीन उम्मेदवारको चुनावी कार्यक्रम एकै ठाउँ, छैन सुरक्षा संवेदनशिलता

बाबुराम भण्डारी |
कात्तिक २५, २०७९ शुक्रबार १९:१३ बजे

विराटनगर- स्थानीय प्रशासनसँग समन्वय नगरी राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरूले एकै समयमा एकै ठाउँ चुनावी प्रचार–प्रसारका कार्यक्रम गर्दा प्रहरीले अपनाउने सुरक्षा संवदेनशिलतामाथि प्रश्न उठेको छ । त्यसको प्रत्यक्ष मार तल्लो तहका प्रहरी र म्यादीहरूले बेहोर्नु परेको छ ।

विराटनगर महानगरपालिका–१७ मिल्स एरियास्थित रानी चोकमा शुक्रबार प्रतिनिधि सभाका दुई स्वतन्त्र उम्मेदवारको चुनावी कोणसभा र सत्ता गठबन्धनको चुनावी कार्यालय उद्घाटनको कार्यक्रम एउटै समयमा पर्ने गरी एकै ठाउँमा राखिएका कारण त्यहाँ सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई निकै असहज बनेको थियो ।


भारतीय सिमाना जोडिएको क्षेत्रमा आयोजित चुनावी कार्यक्रम एकै ठाउँमा भइरहँदा शान्ति सुरक्षाको व्यवस्था मिलाउन समन्वय गर्नुपर्ने प्रहरी मुकदर्शक बन्न बाध्य भएको छ । पाँच सय मिटर नजिकको बोर्डर छेउमा सुरक्षा संवेदनशिलताबिनै उम्मेदवारहरूले चुनावी प्रचारका कार्यक्रम गर्दा प्रहरीको असंवेदनशिलतामाथि पनि प्रश्न उठेको हो ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको चुनावी प्रचार–प्रसार र कोणसभा राखिएको १० मिटर नजिकै गठबन्धनको चुनावी प्रचार कार्यालय उद्घाटन तय गरिएको थियो । दुई पक्षीय कार्यक्रम एकै ठाउँमा तय भएका कारण दुवै पक्षका कार्यकर्ता र समर्थकहरूले नाराबाजी गरेका थिए । त्यहाँ सुरक्षामा खटिएका प्रहरीहरू भने अप्ठेरोमा परेका थिए ।

सार्वजनिक सडकमै आयोजना गरिएको मण्डलको चुनावी प्रचारको कार्यक्रममा सहभागी हुन पुगेको समर्थकहरू र गठबन्धन समर्थित कार्यकर्ताहरू आमनेसामने भएपछि सडकको ट्राफिक व्यवस्था नै सकसपूर्ण बनेको थियो ।

चापाकल चुनाव चिह्न पाएका मोरङ–५ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार मण्डल दलबलसहित कार्यक्रम स्थल पुग्दा छेउमै गठबन्धन समर्थित कार्यकर्ताहरूले होहल्ला गरे । पछि उनीहरूलाई शान्त रहन गठबन्धनकै केही नेताहरूले आग्रह गरेपछि सुरु भएको कोणसभामा मण्डलका समर्थकहरूले पनि होहल्ला र नाराबाजी गरेका थिए ।

स्वतन्त्र उम्मेदवार मण्डलको भाषण सकिएलगत्तै गठबन्धनबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका अमृत अर्याल प्रचार कार्यालय उद्घाटनका लागि पुग्दा फेरि होहल्ला भएको थियो । उनीहरूले स्वतन्त्र उम्मेदवार मण्डलप्रति लक्षित गर्दै होहल्ला गरेका थिए ।

मोरङ–५ (२) का प्रदेश सभा सदस्य उम्मेदवार अर्यालले भाषण सक्ने बित्तिक्कै प्रतिनिधि सभाका अर्का स्वतन्त्र उम्मेदवार सलिम अन्सारीले गाडीमै जडान गरेको जेनेरेटर र लाउडस्पिकर ‘अन’ गरे । फित्ताले नापेर १० मिटरको दूरीभित्र तीन उम्मेदवारको चुनावी कार्यक्रम हुने भएपछि वरिपरीका मानिसहरू भने ‘अब के हुने हो ?’ भन्दै रमिते बनेका थिए ।

बुल डोजर चुनाव चिह्न पाएका अन्सारीले आक्रामक रूपमा सडकमै उभिएर उत्तेजित भाषण गरे । अन्सारी मण्डल र अर्यालको कार्यक्रम सुरु हुनु अघि नै आफ्नो चुनाव चिह्न र फोटो छापिएको प्लेक्स टाँसिएको र ठूल्ठूला लाउडस्पिकर जडित सामान बोक्ने भ्यान लिएर त्यहाँ पुगेका थिए । अन्सारी सत्ता गठबन्धन र अर्का स्वतन्त्र उम्मेदवार मण्डलको कार्यक्रम सकिएलगत्तै भाषण गर्ने तयारीमा देखिन्थे र, उनले त्यसै गरे ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले कुनै पनि उम्मेदवारले चुनावी कार्यक्रम गर्नका लागि प्रहरीसँग अनुमति नलिएको बताए । उनले आफूहरूलाई कार्यक्रमबारे पूर्व जानकारी नभएकाले कार्यक्रमको सुरक्षा व्यवस्थापनमा केही असहजता भएको जानकारी दिए । तर, कार्यक्रम स्थलमा आधा दर्जन नेपाल प्रहरी र एक दर्जन जति म्यादी प्रहरी उपस्थित थिए । उनीहरूले एकै ठाउँमा लगातार तीन उम्मेदवारको कार्यक्रम हुन लाग्दा पनि उम्मेदवार र दलहरूसँग सुरक्षा व्यवस्थापनका लागि समन्वय गर्न सकेका थिएनन् । बरू तीन वटा कार्यक्रम एकै ठाउँमा हुने भएपछि कार्यक्रम स्थलमा उपस्थित भएका प्रहरीहरू नै अलमलिइरहेका थिए ।

मोरङ प्रशासनले यसअघि दलहरूका प्रमुख र प्रतिनिधिहरू राखेर आयोजना गरेको छलफलमा भने एकभन्दा बढी उम्मेदवार वा दलले एकै ठाउँमा चुनावी प्रचारात्मक कार्यक्रम गर्न नपाउने र कार्यक्रम गर्दा कम्तीमा दुई घण्टा पहिले नै जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरीसँग समन्वय गरी अनुमति लिनुपर्ने जनाएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x