कोशी

नेकपा (एस) का नेता भेट्न एमालेका उम्मेदवार पुगे घरैमा

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार २०:६ बजे

विराटनगर- डेंगु संक्रमण भएपछि घरैमा आराम गरिरहेका नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं प्रदेश १ का सचिव महेश रेग्मीलाई नेकपा एमालेबाट मोरङको क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र (२) का उम्मेदवार एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले घरैमा पुगेर स्वास्थ्य लाभको शुभकामना दिएका छन् । 

मंसिर ४ को निर्वाचनको मोर्चामा अलग–अलग पार्टी र गठबन्धनमा रहेता पनि घिमिरेले पूर्वसहकर्मी रेग्मीलाई घरैमा पुगेर स्वास्थ्य लाभको शुभकामना दिएका हुन् । तत्कालीन नेकपा एमाले र त्यसपछि बनेको नेकपा कालमा रेग्मी र घिमिरे दुवै माधवकुमार नेपाल समूहमै थिए ।


घिमिरे २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनबाट मोरङ ४ (२) बाटै निर्वाचित भएर करिब तीन वर्ष मन्त्री समेत भए । पछि नेकपा फुटको संघारमा पुग्दा घिमिरे एमालेमै रहे भने रेग्मी माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए ।

चुनावी दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालबीच कटाक्ष र तीव्र घोचपेच चलिरहँदा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका घिमिरेले भने रेग्मीलाई घरैमा गएर भेटेका हुन् ।

रेग्मीले पनि सत्ता गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र (२) मै उठ्नका लागि आकांक्षा व्यक्त गरेका थिए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपालकै हस्ताक्षर रहेका टिकटबाट उम्मेदवारी समेत दर्ता गरेका थिए । रेग्मीले मोरङमा गठबन्धनभित्र भएको टिकट वितरणको प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थिए । तर उक्त क्षेत्र नेपाली कांग्रेसको भागमा परेका कारण गठबन्धनविरुद्ध जान नसकेपछि उनले उम्मेदवार फिर्ता लिएका थिए ।

पूर्वसहकर्मी समेत रहेका घिमिरे नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर स्वास्थ्य लाभको कामना गर्न घरमा आइपुगेपछि रेग्मी र घिमिरेबीच केहीबेर गफ ठट्टासमेत भएको जनाएको छ ।

मोरङको राजनीतिक वृत्तमा रेग्मी र घिमिरे दुवै शान्त स्वभाव बोकेका नेताका रुपमा चिनिँदै आएका छन् । रेग्मी कात्तिक १८ गते डेंगु संक्रमण भएको पुष्टि भएपछि अहिले विराटनगर–३ पिपलचोकस्थित आफ्नै घरैमा आराम गरिरहेका छन् ।


Author

थप समाचार
x