कोशी

चुनाव २०७९

नेता निषेधित जामुनगाछीमा लालबाबु र शेखरको एउटै आश्वासन

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवरोध गरेनन्

बाबुराम भण्डारी |
कात्तिक २६, २०७९ शनिबार ११:७ बजे

विराटनगर- हुलाकी सडक अन्तरगत विराटनगर-४ र ५ को सीमावर्ती जामुनगाछीमा कालोपत्रे नभएपछि आक्रोशित बनेका स्थानीयले एक वर्षयता नेता निषेधित ठाउँ भन्दै तुल ब्यानरै राखेर बसेका थिए । गत स्थानीय तह निर्वाचनका बेलासमेत उनीहरूले सडक बनाइदिनेलाई मात्रै भोट हाल्ने भन्दै अड्को थापेर बसे ।

जामुनगाछीमा राजनीतिक दल र नेता बहिष्कार अभियान चलाइएको थियो । दल र नेताका कारण विकास निर्माणमा पछि परेको भन्दै स्थानीयहरू त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरूको फोटोसहितको ब्यानरै टाँगेर विरोधमा उत्रिएका थिए । जतिसुकै दबाब दिँदा पनि बाटो कालोपत्रे नभएपछि उनीहरूले नेता बहिष्कारकै घोषणा गरे ।


स्थानीयले नेता बहिष्कार अभियान चलाएपछि त्यहाँ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा भोट माग्न जान नेताहरूलाई निकै सकस भयो । स्थानीय प्रशासनमार्फत बल प्रयोग गरेर नेता बहिष्कार भनिएको फोटोसहितको ब्यानर हटाइयो । तर लगत्तै स्थानीयले फोटोबिनाको ब्यानर राखेर विरोध कायमै राखे । जामुनगाछीमा चुनावी गतिविधि नै शून्यप्राय बन्यो ।

स्थानीयको बहिष्कारका कारण दल तथा उम्मेदवारहरू जामुनगाछी छिर्न सकेका थिएनन् । जामुनगाछी विगतमा चुनावमा चुनावी जमघट हुने ठुलै ठाउँ हो । महानगरपालिकाको ४ र ५ नम्बर वडाका मतदाता यो ठाउँप्रति उदासिन बन्‍नै सक्दैनन् । एउटै मतदानस्थल रहेको वडा नम्बर ४ मा मात्रै ११ हजार १९६ मतदाता रहेका छन् ।

त्यस्तै वडा नम्बर ५ को दुईवटा मतदानस्थलमा मतदान गर्ने मतदाताको संख्या ९ हजार ८० रहेको छ । मोरङको क्षेत्र नम्बर ६ मा पर्ने विराटनगरको वडा नं. ४ प्रदेशसभाको क्षेत्र नं. (१) र वडा नं. ५ क्षेत्र नम्बर (२) मा पर्छ ।

स्थानीयले बाटो नबनेकै कारण दल र नेता बहिष्कार गरेपछि गत स्थानीय तह निर्वाचनमा पनि जामुगाछी क्षेत्रमा चुनावी प्रचार प्रसारका काम देखिने गरी हुन सकेका थिएनन् । तर आउँदै गरेको मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको चुनावी अभियानमा रहेका प्रमुख दलका नेताहरू भने जसरी पनि बाटो बनाइदिने आश्वासन बोकेर जामुनगाछी छिरेका छन् ।

आश्वासन बोकेर पहिलोपटक एमालेले जामुनगाछीमा चुनावी कोणसभा गर्‍यो । कात्तिक १९ गते एमालेले प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डित, प्रदेशसभा क्षेत्र नं. (१) का पर्शुराम बस्नेत र प्रदेशसभा (२) का उम्मेदवार रीता न्यौपानेसहित कोणसभा गर्दै सडक कालोपत्रे गरिदिने आश्वासन बाँड्न सफल भयो ।

निर्माणाधिन अवस्थामा अलपत्र छाडिएको सडकको हिलो र धुलोबाट आजित स्थानीयले शान्तिपूर्वक एमालेका नेताहरूको भाषण सुनेका थिए । जामुनगाछीमै बस्दै आएका एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालगायत एमालेका स्थानीय नेता कार्यकर्ता पनि त्यहाँ देखिएका थिए । एमालेले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले कोणसभा गर्न सहयोग गरिएको नेता बहिष्कार अभियानको नेतृत्व गर्दै आएका उत्तम दाहालले बताए ।

उनले विगतमा विराटनगर महानगरपालिकाले कोसी राजमार्गभन्दा पश्चिम क्षेत्रको विकासमा चासो नदेखाएको प्रति गुनासो पोखे । कोणसभापछि स्थानीयहरूकै प्रतिनिधित्व गरेर लक्ष्मी थापाले एमालेका तीनै जना उम्मेदवारहरूलाई २३ बुँदे मागपत्र थमाएकी थिइन् ।

एमाले उम्मेदवारहरूले पनि कालोपत्रे हुन नसकेको हुलाकी सडकको धुलो र हिलो हटाउने प्रतिवद्धता जनाए । कोणसभालाई सम्बोधन गर्दै एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले भने, ‘यो गठबन्धनबाट राजनीतिक स्थायित्व हुँदैन, राजनीतिक स्थायित्व नभई विकास हुँदैन, आएको बजेटपनि त्यतिबेला महानगरपालिकाले फ्रिज गरिदिएको छ ।’ उनले जामुनगाछीको सडक निर्माण बजेटका कारण नभइ ठेकेदारले काम नगर्दा रोकिएको जवाफ दिएका थिए ।

नेता बहिष्कार गरेको इलाकामा एमाले पुगेपछि कांग्रेसलाई पनि बाटो खुल्यो । बिहीबार बिहान नेपाली कांग्रेसले स्थानीय युवाहरूको साथ सहयोग लिएर जामुनगाछीमै मञ्च बनाएर चुनावी सभा गर्‍यो । सत्ता गठबन्धनबाट क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा.शेखर कोइरालालगायतका नेताहरूले जामुनगाछीमा जमेर भाषण गरेका हुन् ।

गठबन्धनमा रहेका दलका नेताहरूले त्यहाँ स्थानीयवासीको पीडामा सहयोगी भएर भूमिका खेल्ने आश्वासन दिए । समस्याहरूबारे आफूहरू जानकार रहेको तर काम गर्न सक्ने निकायमा आफूहरू नभएका कारण सडकको धुलो र हिलोको समस्या समाधान गर्न नसकेको बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै डा. शेखर कोइरालाले भने, ‘विराटनगरको पूर्व र पश्चिम दुवैतर्फबाट बाटो बनाउने काम शुरु हुन्छ, बीच–बीचमा भएका विवाद समाधान गर्दै चाँडो काम सम्पन्न गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’

हुलाकी मार्ग अन्तरगतको गणेशचोकदेखि केसलिया खोलासम्मको बाटो चुनाव लगत्तै निर्माणको काम थाल्न आफूले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । कोइरालाले एकदेखि डेढ महिनाभित्र काम हुने र डुवान समस्या समाधानका लागि केशलिया खोलाको दुवैतर्फ तटबन्ध निर्माण गर्न करिव ११ अर्ब रुपैयाँको योजना स्वीकृत भइसकेको समेत जानकारी गराए ।

चुनावी सभामा प्रदेशसभातर्फ (१) का उम्मेदवार जीवन आचार्य र (२) का केदार कार्कीसमेत उपस्थित थिए । सोही अवसरमा स्थानीय नेताहरू काजीबाबु पोखरेल, सञ्जय मण्डल, खेम थापा र दुर्गा थापाले जामुनगाछीमा बाटो नबन्दा आफुहरूले भोग्नु परेको सास्तीका सन्दर्भमा उम्मेदवारहरूको ध्यानाकर्षण समेत गराए ।

चुनावी माहौल सुरु भएकै बेला जामुनगाछीमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले समेत भाषण गरेका छन् । टेलिभिजनमार्फत स्थानीयको आन्दोलनलाई राष्ट्रिय मुद्दा बनाइदिएको भन्दै लामिछानेको चुनावी कोणसभालाई अवरोध नगरिएको नेता बहिष्कार अभियानका संयोजक उत्तम दाहालले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x