कोशी

इलाम : निर्वाचनको सुरक्षा तयारी पूरा

इकागज |
मंसिर ३, २०७९ शनिबार ९:१९ बजे

इलाम- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ । दुई सङ्घीय र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन् । म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।

“दश पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्”, उनले भने, “सम्पूर्ण मतदानस्थल तथा केन्द्रमा निर्वाचनका लागि खटाइएका कर्मचारीका साथ सुरक्षा टोली शुक्रबार पुगिसकेका छन् । निर्वाचन सुरक्षाका सबै तयारी पूरा भइसकेको इलाममा भयरहित निर्वाचन सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।”


आगामी निर्वाचनका लागि जिल्लाभर पाँच सय ५० नेपाली सेना, चार सय ५४ सशस्त्र प्रहरी, सात सय ७५ नेपाल प्रहरी, एक हजार चार सय ४८ म्यादी प्रहरी र १५ सदस्य अनुसन्धान विभागको टोली खटाइएको छ । निर्वाचनका दिन खटिने गरी चारवटा मोबाइल टोली बनाइएको छ । जिल्लामा प्रजिअको नेतृत्वमा र निर्वाचन क्षेत्रमा उपसिचवस्तरका कर्मचारीको नेतृत्वमा टोली परिचालित हुने प्रजिअ ढुङ्गानाले बताए ।

केही दिनअघि जिल्ला सुरक्षा समिति इलामले मतदानस्थलको अवस्था विश्लेषण गरेको थियो । सोअनुसार इलामका ३६ मतदानस्थललाई अतिसंवेदनशीलरूपमा लिइएको छ । पचपन्न वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनी छुट्याइएको ढुङ्गाानाले बताए । “सुरक्षा अवस्था, भौगोलिक कठिनाइ वा दूरी र मतदाताको पहुँचजस्ता कुराले संवेदनशीलता पहिचान गरेका हौँ”, उनले भने, “संवेदनशील भनेर छुट्याइए पनि सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था भने मजबुत बनाइएको छ ।” रासस


Author

थप समाचार
x