कोशी

हारिन् गिरिजापुत्री सुजाता कोइराला, एमालेका ऋषिकेश विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २०:३४ बजे

विराटनगर । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले तीनपटक चुनाव जितेको मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुत्री सुजाताले पराजय व्यहोर्नु परेको छ ।

शुक्रबार ८ बजे सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार सुजाता नेकपा एमाले मोरङका अध्यक्ष एवं संविधानसभा सदस्य ऋषिकेश पोखरेलसँग पराजित भएकी हुन् । पोखरेलले २०७० को दोस्रो संविधानसभामा सोही निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । २०७४ को आम निर्वाचनमा तत्कालीन वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पोखरेल कांग्रेसका डा.मिनेन्द्र रिजालसँग पराजित भए ।


कांग्रेस सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटका क्रममा मोरङ–२ को टिकट सुजातालाई दिएपछि उनी पिता स्व.गिरिजाप्रसादको विरासत जोगाउने भन्दै चुनावी मैदानमा उत्रिएकी थिइन् । तर अन्तिम मतपरिणाम अनुसार उनी एमालेका पोखरेलसँग १ हजार २०८ मतले पराजित भएकी हुन् । सुजाताले ३१ हजार ९४० मत प्राप्त गर्दा उनलाई उछिन्न सफल भएका पोखरेलले ३३ हजार १४८ ल्याएका हुन् । तत्कालीन अवस्थामा निर्वाचन क्षेत्र १ रहेको यो क्षेत्रमा सुजाताका पिता गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र ०५६ मा संसदीय निर्वाचन जितेका हुन् ।

२०५६ मा मोरङ र सुनसरीबाट जितेका कोइरालाले मोरङ छाडेपछि भएको उपनिर्वाचनमा भने आमोदले नै बाजी मार्दै विरासतलाई जोगाइदिएका थिए । मतगणना चलिरहँदा कोइराला र पोखरेलबीचको उछिनपाछिन उनीहरुका कार्यकर्ताहरुका लागि निकै सकसपूर्ण बनेको थियो । गणनाको सुरुवातदेखि नै उनीहरुबीचको मतान्तर झिनो रहँदै आएको थियो । तर अन्तिममा भने एमालेका पोखरेलले बाजी मार्दै प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । पोखरेलको विजयीसँगै एमाले नेता कार्यकर्ताहरुका लागि मोरङको ६ वटा क्षेत्रमध्ये गणना सकिएका ४ वटा क्षेत्रमा व्यहोर्नु परेको हारमा सात्वना मिलेको छ ।

विद्यार्थी राजनीतिबाट एमालेका राजनीतिमा उदाएका पोखरेल २०४२ सालमा मोरङकै कसेनीस्थित माक्र्सवादी अध्ययन केन्द्रको सदस्य बनेका थिए । २०५४ मा उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यसम्म भएका थिए । प्रतिनिधिसभा सदस्यको पाँच बर्षे कार्यकाल सुरक्षित गरेका पोखरेलले आफूसँगै प्रदेशसभाको क्षेत्र नं. २ (२) बाट लिलाबल्लभ अधिकारीलाई पनि जिताउन सफल भएका हुन् । एक लाख २४ हजार ७२९ मतदाता रहेको मोरङ २ मा ८० हजार १२७ मत खसेको थियो ।


Author

थप समाचार
x