कोशी

सुनसरी-४ : आलाेपालाे अग्रताले राेचक बन्दै परिणाम, कार्की ५४ मतले मात्रै अगाडि

बाबुराम भण्डारी |
मंसिर १४, २०७९ बुधबार १६:३३ बजे

विराटनगर - तीन दिनसम्मको विवादपछि पुनः गणना सुरु भएको सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ मा अहिले नेपाली कांग्रेसका नेता एवं सरकारका सुचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ५४ मतको मात्रै अग्रता छ । बुधबार बिहान ११ बजेसम्मको मतपरिणाम अनुसार कार्की ३९९ मतान्तरले नेकपा एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतभन्दा अघि थिए ।

तर अहिले कार्की र कुसियैतको मतान्तर ५४ मा आइपुगेपछि उनीहरुको बीचको प्रतिष्पर्धा रोचक बन्दै गएको हो । सुनसरीको क्षेत्र नम्बर ४ मा अब करिब साढे सात हजार मत मात्रै गन्न बाँकी रहेको जनाइएको छ । कुसियैतले कार्कीसँगको मतान्तर निरन्तर तल झारेका कारण मतगणनास्थलमा एमालेका नेता कार्यकर्ताहरु उत्साहित बनेका छन् ।


कांग्रेसका कार्की र एमालेमा कुसियैतबीचको मतान्तर एक सयभित्रै अघिपछि भइरहेका कारण उनीहरुले निकै कठिन समय व्यहोरिरहेका छन् । प्रदेश १ को २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब सुनसरी ४ को मात्रै अन्तिम मतपरिणाम आउन बाँकी छ । 

कार्की र कुसियैतबीचको कडा टक्करले परिणाम पनि रोचक बन्नसक्ने नेता कार्यकर्ताहरुको बुझाई छ । मतगणनामा विवाद देखिएयता सुरक्षाकर्मीले कडा चेकजाँच गरेरमात्रै दलका प्रतिनिधिहरुलाई गणनास्थलमा पठाउँदै आएको छ ।

कार्की र कुसियैतको प्रतिष्पर्धा रोचक मोडमा पुग्दा प्रदेशसभातर्फ भने कांग्रेसका दुवै उम्मेदवारले सुरक्षित मत पाइसकेका छन् । प्रदेशसभा क्षेत्र नम्बर ४ (१) मा कांग्रेसका सदानन्द मण्डल जसपाका परशु राम बस्नेतभन्दा ३ हजार २३७ मतले अगाडि छन् ।

प्रदेशसभा ४ (२) मा पनि कांग्रेसका इस्राइल मन्सुरी १४ हजार ३२७ मतका साथ जित घोषणाको पखाईमा छन् । मन्सुरीभन्दा एमालेका उम्मेदवार अब्बास अन्सारी २ हजार १४१ मतले पछि छन् ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x