कोशी

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

बाबुराम भण्डारी |
पुस २४, २०७९ आइतबार १७:२५ बजे

विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ सोमबार दिउँसो २ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यका रुपमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।


कार्कीले नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका संसदीय दलका नेताहरुको समर्थनमा आजै मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख खापुङले प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्न आठ दिनको समय सीमासहित पुस १७ गते विज्ञप्तिमार्फत आह्वान गरेका थिए । आइतबार बेलुका ५ बजेसम्मको समय सीमाभित्रै कार्कीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x