कोशी

प्रदेश १ को उपसभामुखमा एमालेकी सृजना दनुवार निर्वाचित

बाबुराम भण्डारी |
पुस ३०, २०७९ शनिबार १६:१२ बजे

विराटनगर- प्रदेश १ को प्रदेश सभाको उपसभामुख पदमा प्रदेश सभा सदस्य सृजना दनुवार निर्वाचित भएकी छन् । शनिबार बसेको प्रदेश १ को प्रदेश सभाको बैठकमा सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुख गौतमले प्रदेश सभामा तत्काल रहेका ९३ जना प्रदेशसभा सदस्यहरू मध्ये सभामुखबाहेक ९० जनाले मतदानको प्रक्रियामा सहभागी भएको र उल्लेखित सदस्य संख्यामध्ये दनुवारलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ५७ मत र विपक्षमा ३३ मत प्राप्त भएको सभालाई जानकारी दिए । प्रस्तावको पक्षमा परेको जम्मा ५७ मत प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएको भन्दै सभामुख गौतमले प्रदेश सभा सदस्य दनुवारलाई उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।


संविधानको धारा १८२ तथा प्रदेश सभा नियमावली २०७४ को नियम (९) बमोजिम उपसभामुख पदका लागि भएको निर्वाचन कार्यक्रम अनुसार शनिबार बसेको प्रदेशसभाको बैठकमा मत विभाजनको प्रक्रियाबाट दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुख दनुवारलाई शनिबार नै प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा प्रदेश सभाका सभामुख बाबुराम गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

चार दलीय सत्ता समीकरणबाट उपसभामुखको उम्मेदवार बनेकी दनुवार नेकपा एमालेबाट निर्वाचित उदयपुरकी समानुपातिक सांसद हुन् । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले, सभामुखमा माओवादी केन्द्र र उपसभामुख एमालेले पाउने सत्ता समीकरणभित्रको पूर्व सहमति अनुसार दनुवार एमालेबाट उपसभामुखको उम्मेदवार थिइन् ।

नेकपा एमालेको ४०, नेकपा माओवादीको १३, राप्रपाको ६ र जसपा मिलेर बनेको ६० सदस्यीय सत्ता समीकरणको समर्थनमा निर्वाचन. हुने क्रममा एमालेका दुई सांसद भने मतदानमा सहभागी भएनन् ।

मत विभाजनको समयमा शौचालय गएकी एमालेकी प्रदेश सभा सदस्य मीना श्रेष्ठले भने मतदान गर्न पाइनन् । मत विभाजनको समयमा प्रदेश सभा हल प्रदेश गर्न दिइएको पाँच मिनेटको समयभित्र श्रेष्ठ सभाहल प्रदेश नगरेपछि उनी मतदानबाट वञ्चित भएकी हुन् । 

पाँच मिनेटका लागि बजेको जनाउ घण्टी रोकिएपछि श्रेष्ठ सभा हलभित्र प्रवेश गर्न खोजेकी थिइन् । तर, मर्यादापालकले उनलाई रोकेका थिए । एमालेकै अर्का प्रदेशसभा सदस्य उमाकान्त गौतम भने विरामी भएर बैठकमा उपस्थित हुन नसकेको जनाइएको छ ।

एमालेकी उपसभामुखकी उम्मेदवार दनुवारलाई सर्वसम्मत हुन नदिने रणनीति अनुसार नेपाली कांग्रेस र नेकपा (एस) ले उदयपुरकै प्रदेशसभा सदस्य लिलाकुमारी राईलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । 

सभामुखमा सत्ताधारी माओवादी केन्द्रलाई समर्थन जनाएको नेकपा एसको कै समर्थनमा उपसभामुखको उम्मेदवार बनेकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राईको पक्षमा ३३ र विपक्षमा ५७ मत परेपछि उपसभामुख निर्वाचित हुन सकिनन् ।

प्रदेश सभाको तत्काल भएको सदस्य संख्याको बहुमतले राईलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको सभामुख गौतमले घोषणा गरेका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x