कोशी

प्रदेश १ सरकारका ६ वटै मन्त्रीहरूले पाए मन्त्रालय, प्रचण्डका ज्वाईंलाई पर्यटन

बाबुराम भण्डारी |
माघ ६, २०७९ शुक्रबार २०:३४ बजे

विराटनगर- ६ जना बिनाविभागीय मन्त्रीहरूको मन्त्रिमण्डलको नेतृत्व गरिरहेका प्रदेश १ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार नै मन्त्रीहरूको मन्त्रालयगत कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सदस्यहरूको कार्यविभाजन तोकेका हुन् । कार्यविभाजनको पत्र मुख्यमन्त्री कार्यालयबाट शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा पुगेको जनाइएको छ । मुख्यमन्त्री कार्कीले शुक्रबारमात्रै प्रदेश १ मा यसअघि कायम रहेका १३ वटा मन्त्रालयलाई घटाएर ९ वटा बनाउने प्रदेश सरकारको कार्यविभाजन नियमावली २०७९ र कार्यसम्पादन नियमावली २०७९ स्वीकृत गरेका थिए । कार्यसम्पादन नियमावली अनुसार मुख्यमन्त्रीले मन्त्रीहरूको कार्यविभाजन तोकेका हुन् ।


कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन् । बाँकी रहेका मन्त्रालय मध्ये सत्ता समीकरणको दोस्रो दल माओवादी केन्द्रलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व सुम्पिएका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले सडक पूर्वाधार तथा सहरी विकास र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का ज्वाईं समेत रहेका पार्टी केन्द्रीय सदस्य जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन् ।

बिनाविभागीय मन्त्री बनेका एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा उर्जा तथा बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाएका हुन् । राप्रपा संसदीय दलका नेता तथा पार्टी केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला उद्योग, कृषि तथा सहकारी र जसपाकी निर्मला लिम्बु स्वास्थ्यमन्त्री बनेकी हुन् ।

०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका कार्कीले २५ गते प्रदेश १ को मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सोही दिन एमालेका तर्फबाट तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बुलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै सरकार गठनको प्रक्रिया आरम्भ गरेका थिए ।

पुनः पुस २९ मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य तथा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले मन्त्री पदको शपथ खाँदा उनीहरू पनि बिनाविभागीय तोकिएका थिए । शुक्रबार सबै मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

भोलि (शनिबार) र पर्सी (आइतबार) पनि सार्वजनिक बिदा परेका कारण कार्यविभाजन अनुसार मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरूले सोमबार आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्ने भएका हुन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x