कोशी

प्रदेश १ का ६ मन्त्रीले गरे पदभार ग्रहण

आङ खस्ने समस्याको उपचारदेखि चार्जिङ स्टेशन स्थापना गर्ने निर्णय

बाबुराम भण्डारी |
माघ ९, २०७९ सोमबार १८:१२ बजे

विराटनगर- प्रदेश १ मा मन्त्रालय प्राप्त गरेका ६ जना मन्त्रीहरूले सोमबार कार्यकक्ष पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका क्रममा मन्त्रीहरूले आङ खस्ने समस्याबाट पीडित बनेका महिलाहरूलाई अझ सहज रूपमा उपचार सेवा प्रदान गर्नेदेखि लिएर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नेसम्मको निर्णय गरेका छन् ।

सरकार गठन भएको ११ औं दिनमा कार्यविभाजन भएर मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरूले पदभारका क्रममा आफ्नो मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित निर्णयहरू गरेका हुन् ।


खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश १ का विभिन्न स्थानमा विद्युतीय सवारी साधनका लागि द्रुत चार्जिङ स्टेशन स्थापना गर्ने निर्णय गरे । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति कार्यक्रम अनुसारको बजेट वक्तव्यमा चार्जिङ स्टेशन स्थापनाका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तर, नीतिगत निर्णय नभएका कारण चार्जिङ स्टेशन स्थापनाको काम अघि बढ्न नसकेको भन्दै मन्त्री मेन्याङ्बोले बृहत् विराट क्षेत्रका प्रमुख स्थानहरूमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने निर्णय गरेका हुन् ।

प्रदेश १ का पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले पनि मन्त्रालय पुगेर आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरे । उनले प्रदेश १ को वन, वातावरण तथा भूसंरक्षण नीति ल्याउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

संघीय सरकारको मात्रै वन तथा वातावरणसम्बन्धी नीति भएका कारण प्रदेशमा पनि नीति आवश्यक रहेको मन्त्रालयका सचिव डा.संजीवकुमार राईले मन्त्री आचार्यलाई ब्रिफिङ गरेका थिए ।

प्रदेशको नीतिमा प्रदेशको वन व्यवस्थापन, वातावरण संरक्षण, जैविक विविधताको संरक्षण र दीगो उपयोग, भू तथा जलाधार संरक्षण, जलवायु परिवर्तन लगायतका विषय नीतिमा समेटिने जनाइएको छ ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सडक बालबालिकाको संरक्षणमा कार्यरत संस्था इटहरीको भिएसओलाई पाँच लाख रुपैयाँ, भोजपुरको सगरमाथा माविलाई नमूना विद्यालय कार्यक्रम अन्तर्गत छुट्याइएको ४२ लाख ५० हजार र सोलुखुम्बुमा बौद्ध विद्यालयलाई यसअघि नै छुट्याएको पाँच लाख रुपैयाँ निकासा पठाउने निर्णय गरेका छन् । उनले भौगोलिक रूपमा सबै क्षेत्रको विकासका लागि आफूले ध्यान दिएर काम गर्ने बताए ।

स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदभार ग्रहणका क्रममा आङ खस्ने समस्याबाट पीडित भएका महिलाहरूका लागि स्वास्थ्य सेवामा पहुँच वृद्धि र उपचारमा सहजता प्रदान गर्ने निर्णय गरेकी छन् ।

सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईँले मन्त्रालय मातहतका कार्यालय प्रमुखहरू र मन्त्रालयबीच यसअघि भएको कार्यसम्पादन सम्झौतामा उल्लेखित कार्यतालिका अनुसार तोकिएको समयमा काम सम्पन्न निर्देशन दिने निर्णय गरेका छन् ।

मन्त्रालयका सचिव अशोककुमार साहले कार्यतालिका पालना गर्नलाई कार्यतालिका बनिसकेकोले उक्त तालिकामा तोकेको समयभित्र कार्यसम्पन्न गर्ने व्यवस्था मिलाउन मन्त्री चापागाईँले निर्देशन दिने निर्णय गरेको जानकारी दिए । पदभार ग्रहणका क्रममा मन्त्री चापागाईँले सडक सञ्जालले नजोडिएका स्थानीय तहमा सडक पुग्ने गरी आगामी कार्यक्रम बनाउनका लागि मन्त्रालयलाई सोही अवसरमा निर्देशन दिएको सचिव साहले बताए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मन्त्रालय अन्तरगतका तीनवटै विभागमा अहिलेसम्म भइरहेका कामकारबाहीको अवस्था, व्यवस्थापकीय र प्रशासनिक अवस्था, मन्त्रालयको कामलाई प्रभावकारी बनाउन गर्नुपर्ने काम लगायतका विषयमा अध्ययन गरी एक महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेका छन् ।

मन्त्री सिटौलाले मन्त्रालयको वस्तुगत अवस्था थाहा नभई कामको विषयमा निर्णय लिन अप्ठेरो हुने भन्दै तीनवटै विभागको प्रतिवेदन आएपछि अझ प्रभावकारी रूपमा अघि बढ्ने बताए ।

मन्त्रीहरूले पदभार ग्रहण गरे पनि केही मन्त्रालयहरूको प्रशासनिक कार्यविभाजन भने अन्यौलमै छ । १३ बाट ९ मन्त्रालय कायम गरिएका कारण मन्त्रालयहरूको कार्यविभाजन हेरफेर भएको हो । नयाँ कार्यविभाजन अनुसार मन्त्रालयमा कर्मचारीको नेतृत्व र संरचना व्यवस्थापन भएपछि मात्रै मन्त्रालयमा कामको तालमेल मिल्ने कर्मचारीहरूले बताएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x