कोशी

आजै 'सरप्राइज' नाम दिने प्रदेश १ को तयारी, दलहरूबीच गोप्य सहमति

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधवार ८:१५ बजे

विराटनगर - प्रदेश १ को नामाकरणबारे दलहरूबीच सहमति भएको छ । आज बस्ने प्रदेश सभा बैठकमाबाट नामाकरणको सबै प्रक्रिया टुंग्याउने दलहरूबीच गोप्य सहमति भएको हो । प्रदेश सभामा रहेका दलहरूबीच गोप्य रूपमा नामाकरणको खाका तयार भइसकेको स्रोतको दाबी छ । प्रदेश १ को पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशको नामाकरण हुन नसकेपछि दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरण टुंगिने निश्चित भएको हो ।

दलहरूले सहमतिका साथ सरप्राइज नाम दिने सहमति गरेको दाबी उच्च स्रोतले गरेको छ । बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नामाकरणको प्रक्रियामा सहमति जुटाउने तयारी छ ।


आजै पेश हुने नामाकरणको प्रस्तावलाई संशोधन गर्न दुई घण्टाको समय निर्धारण गरिएको छ । बेलुका ८ बजेसम्म लगाएर भए पनि नामाकरणको प्रक्रिया टुंग्याउने सहमति दलहरूबीच भइसकेको जनाइएको छ ।

नामाकरण हुन नसकेको भन्दै प्रदेश सभाको पहिलो अधिवेशनमै प्रदेश सभाका सदस्यहरूले चर्को आवाज उठाउँदै आएका थिए । उनीहरूले बेनामे प्रदेश बनाएर अघि बढ्न नहुने भन्दै आ–आफ्ना दलहरूमा लबिङ गर्दै आएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x