कोशी

प्रदेश १ को नाम ‘कोसी’ राख्‍ने दलहरूबीच सहमति

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधबार ८:५७ बजे

विराटनगर - प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी छ । उच्च स्रोतका अनुसार ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच गोप्य रूपमा प्रदेशको नाम कोसी राख्न सहमति जनाइसकेका छन् ।

प्रदेश १ को नाम कोसी नामाकरण गर्न दुई तिहाइको सुनिश्चित भइसकेको नेकपा एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिए । नामाकरणको सबै प्रक्रिया आजै टुंगो लगाइने उनले दाबी गरे ।


प्रदेशको नाम प्रदेश सभाको दुई तिहाइ बहुमतबाट राख्नुपर्ने संविधानको धारा २९५ को उपधारा (२) मा उल्लेख छ । सोही व्यवस्था अनुसार प्रदेश १ को प्रदेशसभा नियमावली (पहिलो संसोधन) २०७४ को नियम ५८ को उपनियम (ख) मा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्ने व्यवस्था गरिएको छ ।

नियमावलीअनुसार नामकरण सम्बन्धी प्रस्तावको लागि दर्ताको सूचना सभामुखले तोके बमोजिम हुने भनिएको छ । सूचना प्रदेश सभाका सचिवले प्रकाशित गर्ने, सो प्रस्ताव कुनै सदस्यले अनुसूची ९ बमोजिमको ढाँचामा कम्तिमा दुई जना सदस्यको समर्थनसहित सभाका सचिवलाई दिनुपर्ने जनाइएको छ ।

प्रस्तावक सदस्यले मन्तव्यसहित सभामा नामाकरणको प्रस्ताव प्रस्तुत गर्ने अनुमति माग्ने उल्लेख छ । नाममा सहमति भइसकेका कारण एउटै मात्र प्रस्ताव पेश हुने उच्च स्रोतले जनाएको छ । आजै सबै प्रक्रिया सक्नु पर्ने भएकोले केही नियमहरू समेत निलम्बन हुनसक्ने जनाइएको छ । त्यसको निर्णय भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा हुने भनिएको छ ।​

यो पनि 

आजै 'सरप्राइज' नाम दिने प्रदेश १ को तयारी, दलहरूबीच गोप्य सहमति

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x