कोशी

प्रदेश नामकरणको तयारी, प्रदेश सभा वरिपरिदेखि मुख्यमन्त्रीको निवाससम्म निषेधित क्षेत्र घोषणा

बाबुराम भण्डारी |
फागुन १७, २०७९ बुधबार १४:१८ बजे

विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदन शीलताको कारण देखाउँदै प्रदेश सभा र मुख्यमन्त्री निवासलगायत क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश १ को प्रदेश सभाले आजै प्रदेशको नामाकरण टुङ्ग्याउनेगरी प्रक्रिया अघि बढाएपछि अपराह्न ३ बजेबाट विराटनगरका केही क्षेत्रमा विरोध सभा, जुलुस, धर्ना लगायतका गतिविधि गर्न निषेध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपश्चात् पनि असहमत पक्ष (राजनैतिक दल, समूह, जातीय संघ संस्था) बाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मा. मुख्यमन्त्रीज्यूको निवास वरपर निषेधित क्षेत्र घोषणा गरेको बताए ।


'मिति २०७९।११।१७ गते दिउँसो ३:०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस भेला, रयाली, धर्ना जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) वमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ' सूचनामा उल्लेख छ । आदेशको उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने उल्लेख छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x