कोशी

नेपाली सेनाले बनाएकाे विराट राजाको दरबार संग्रहालय महानगरलाई हस्तान्तरण

बाबुराम भण्डारी |
फागुन २८, २०७९ आइतबार १५:२४ बजे

विराटनगर। नेपाली सेनाले चार महिनाम लगाएर बनाएको विराटनगर–१८ भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरबार संग्रहालय भवन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आइतबार नेपाली सेनाले विराट राजा प्राचीन दरबार संग्रहालय भवनको उद्घाटन गर्दै त्यसको चाबी महानगरपालिकाका मेयर नागेश कोइरालालाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको जनहित कार्यक्रम अन्तरगत विनियोजित १९ लाख ७५ हजार ६६३ रुपैयाँको लागतमा संग्रहालय भवन निर्माण गरिएको जनाइएको छ । सेनाले २०७९ असोज ३१ गते सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार सुचना निकालेर कात्तिक २१ गतेदेखि भवन बनाउन सुरु गरेको थियो ।


मुलुकभित्रका ऐतिहासिक सम्पदाको संरक्षण, सम्वर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ प्राचीन विराट राजा दरबार संग्रहालय भवन निर्माण गरिएको नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथि डा.आसबहादुर तामाङले जानकारी दिए। स्थानीयको सहयोगमा भवन निर्माण कार्य सम्पन्न गरेर महानगरपालिकामार्फत पुनः स्थानीय समुदायमै भवनको स्वामित्व प्रदान गरिएको उनले बताए । उपरथि तामाङले नेपालको इतिहास जोगिएमात्रै नेपाली नागरिकको पहिचान जोगिने दाबी गरे ।

महाभारतकालिन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाका रुपमा रहेको छ । त्यस क्षेत्रमा प्राचीन मानव बस्ती समेत रहेको प्रमाण प्राप्त भएको पुरातत्व विभागले गत वर्ष पुसमा गरेको उन्खननबाट पुष्टि भएको जनाएको थियो ।

त्यस क्षेत्रमा भेटिएका ऐतिहासिक वस्तु तथा सामग्रीहरु भने स्थानीय कमलकिशोर यादवले घरैमा राखेर संरक्षण गर्दै आइरहेका छन् । सरकारले संग्रहालय नबनाउँदा ती सामग्री यादवले आफ्नै घरमा राखेर दरबार क्षेत्रको अवलोकनमा पुग्ने व्यक्तिहरुलाई विराट राजाको दरबार क्षेत्रको बारेमा जानकारी दिंदै आएका थिए । यादवकै नेतृत्वमा प्राचीन विराट राजाको दरबार संरक्षण समिति बनेको छ । 

नेपाली सेनाले संग्रहालय भवन निर्माण गरिदिएपछि अहिले यादवको घरबाट केही सामग्रीहरु ल्याएर संग्रहालयमा राखिएको छ । नियमित सुरक्षाको व्यवस्था भइनसकेका कारण थप महत्वपूर्ण सामग्री संग्रहालयमा ल्याइएका छैनन् ।

संग्रहालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहका सरकारले बनाउने भन्दाभन्दै पनि संग्रहालय बनाउन नसकेको अवस्थामा नेपाली सेनाले बनाइदिएको भन्दै खुसी व्यक्त गरे । उनले संग्रहालय भवन निर्माणका लागि महानगरपालिकाले जग्गाको व्यवस्थापनमा सहयोग गरेको जानकारी दिए । मेयर कोइरालाले विराटनगरको उत्तरी क्षेत्रमात्रै विकास भएको भन्दै अव दक्षिणी क्षेत्रको विकासमा सहकार्य गरिने आश्वासन दिए । संग्रहालय भवन बनाउन स्थानीय चन्द्रशेखर यादवले एक कठ्ठा जग्गा सहयोग गरेको जनाइएको छ । 

महाभारतकालीन समयमा ८ विगाहा ३ कठ्ठा १७ धुरमा फैलिएको भेडियारी क्षेत्रमा राजा विराटको मुख्य मुकाम रहेको र सोही कालमा पाण्डवहरु द्रौपतिसहित गुप्तबासको दौरान भेडियारीस्थित राजा विराटको दरवारमा लुकेर बसेको किंवदन्ती रहेको छ । त्यसका साथै यो क्षेत्र मत्सेय देशको नामले समेत चिनिने गरेको अर्को किंवदन्ती पनि रहेको जनाइएको छ । 

विराट राजाको दरबार क्षेत्रमा वि.सं. २०२७ सालमा नेपाल सरकारले पुरातत्व विभागमार्फत पहिलो उत्खनन् गरेको थियो । त्यतिबेला पनि प्राचीनकालमा प्रचलनमा रहेका चाँदीका मुद्रा ४० वटा भेटिएका थिए । जसलाई प्राचीन महाभारतकालीन विराट राजाको दरबार क्षेत्र भएको भनेर पुष्ट्याँई गरिएको थियो ।

संग्रहालय भवन हस्तान्तरण कार्यक्रममा मोरङ क्षेत्र नं. ५ प्रदेशसभा क्षेत्र (२) का प्रदेश सभा सदस्य अमृत अर्याल, महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, वडा नम्बर १८ का वडाध्यक्ष जितेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x