कोशी

तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारी र क्षेत्रीय प्रबन्ध पक्राउ

इकागज |
फागुन २९, २०७९ सोमबार १३:१ बजे

विराटनगर । विराटनगर–२ मा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका तीन कर्मचारी पक्राउ परेका छन् । उनीहरु विरुद्ध सर्वसाधारणको बचत रकम ठगी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गर्दै सहकारीसम्वद्ध ८ जनाविरुद्ध ठगी मुद्दामा हालसम्म १२१ जनाको जाहेरी प्राप्त भएको र सोही जाहेरीका आधारमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी उपरीक्षक दिपक पोखरेलले सहकारीका अध्यक्षसहित अन्य पाँचजनाको खोजी भइरहेको बताए ।


नेपालभर कार्यक्षेत्र रहने गरी २०५२ चैत १३ मा दर्ता भएको तुलसी सहकारीले विराटनगरमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै झापा, उदयपुर तथा सिरहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरेको थियो । सहकारीले सर्वसाधारणबाट करिब दुई अर्ब रुपैयाँ बचत तथा मुद्दती निक्षेप संकलन गरेको अनुमान छ ।
सञ्चालकहरुले सहकारीमा जम्मा भएको रकमलाई नियमविपरीत विभिन्न सहायक कम्पनीहरुमा लगानी गरेका छन् ।  

सहकारीका २१ हजार ७१३ जना बचतकर्ता सदस्यको बचत रकम अहिले जोखिममा परेको छ । मोरङका मात्रै चार हजार बढी सदस्यहरूले सहकारीमा रकम बचत गरेको पाइएको प्रहरीले जनाएको छ ।

बचतकर्ताहरुले तीन हजार रुपैयाँको चेक पनि नसाटिएपछि सहकारीको कारोबारमा आशंका गरेका थिए । त्यसपछि सयौं बचतकर्ताले विराटनगरसहित झापा र उदयपुरको सेवा केन्द्रमा आफ्नो बचत रकम फिर्ता माग्दै आन्दोलित बनेका थिए । 

सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत र साधारण बचत लगायत खाताहरुमा सर्वसाधारणबाट बचत र निक्षेप संकलन गरेको पाइएको छ । शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज पाइने, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने प्रलोभनमा पारेर निक्षेप संकलन गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने फरार भइसकेका छन् । 

‘उजुरी प्राप्त भएका १२१ जनाबाट हालसम्म १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ ठगी भएको दाबी प्राप्त भएको छ’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘अहिलेसम्मको अनुसन्धानमा आठ जनाविरुद्ध उजुरी देखिन्छ, तीनजनालाई हामीले पक्राउ गरिसकेका छौं, अरुको खोजी सोमबारदेखि नै सुरु गरिसकेका छौं ।’
पक्राउ परेका तिनैजनालाई जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । प्रारम्भिक अनुसन्धानले सर्वसाधारणको निकै ठुलो रकम हिनामिना भएको हुनसक्ने देखिएको बताए । साथै उक्त सहकारीबाट ठगिएका बचतकर्ता पीडितहरुले पाँच दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिन समेत आग्रह गरिएको जनाइएको छ ।


Author

थप समाचार
x