कोशी

मोरङका १० क्याम्पसमा स्ववियूले पायो नेतृत्व, कहाँ कसले जिते ?

बाबुराम भण्डारी |
चैत ८, २०७९ बुधबार १९:३२ बजे

विराटनगर । मोरङका १० वटा क्याम्पसहरुमा एक साथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगत देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरु मध्ये मोरङका सवै क्याम्पसमा शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन भएको हो ।

कोशी प्रदेशकै सबैैभन्दा धेरै विद्यार्थी रहेको विराटनगरस्थित त्रिविको आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा १४ बर्षपछि स्ववियुले नेतृत्व प्राप्त गरेको छ । नेपाली कांग्रेस निकट नेविसंघका जसवन्त पौडेलले स्ववियु अध्यक्ष जितेका हुन् । 


महेन्द्र मोरङ क्याम्पस २०१२ साउन १६ मा स्थापना भएको हो । यहाँ २०३६ सालमा पहिलो स्ववियु निर्वाचन हुँदा एमाले निकट अनेरास्ववियुका तर्फबाट ध्रुवनारायण प्रधानले सभापति जितेका थिए । त्यसयताका स्ववियु चुनावमा महेन्द्र मोरङमा अनेरास्ववियु र नेविसंघले अधिकांश निर्वाचन जित्दै आएका थिए ।

महेन्द्र मोरङमा यस पटक सम्पन्न स्ववियु निर्वाचनमा कायम रहेका ५ हजार ७९० विद्यार्थी मतदाता मध्ये ३ हजार १६६ ले मतदानमा सहभागी भएका थिए । निर्वाचन अधिकृत डा.सुनिल कुमार अधिकारीले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार २१ सदस्यीय स्ववियूको नेतृत्व गर्दै नेविसंघका पौडेलले एक हजार ६८९ मतका साथ निर्वाचित भएका हुन् ।

अध्यक्षमा दोस्रो मत माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का रोहित यादवले ल्याए । यादवले ७८४ मत प्राप्त गर्दा अघिल्ला निर्वाचनहरुमा बलियो उपस्थिति जनाउँदै आएको एमाले निकट अनेरास्ववियुबाट अध्यक्ष उम्मेदवार नविन पहाडीले ५९२ मत मात्रै प्राप्त गरेका छन् । यसअघि २०६५ को स्ववियु निर्वाचनमा समेत अखिल (क्रान्तिकारी) का जयराम सुन्दास सभापतिमा निर्वाचित भएका थिए । महेन्द्र मोरङमा अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) आ–आफ्नो प्यानलै चुनाव लडेका थिए ।

सचिवमा भने अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भएका हुन् । उनले ९३७ मत प्राप्त गरे । नेविसंघकी पूजा विश्वासले ७८६ मत प्राप्त गर्दै पहिलो प्रतिद्वन्द्वीमा सिमित भइन् । कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोराले एक हजार १४३ मत प्राप्त गर्दै बिजयी भए । अनेरास्ववियूका आरोग्य थापाले कोषाध्यक्षमै ९०२ मत पाए।

महेन्द्र मोरङको स्ववियु सदस्यमा नेविसंघबाट अमित मुखिया, दिलिपकुमार यादव, प्रज्वल बिष्ट, मो.साहिल अन्सारी, रोशनकुमार पासवान र सुदिक्षा थापा मगर निर्वाचित भए । एमाले निकट अनेरास्ववियुका मन्दिप पोखरेल र केवल काफ्ले सदस्यमा चुनिए । महेन्द्र मोरङमा अखिल (क्रान्तिकारी) र नेकपा एस निकट अनेरास्ववियूले भने प्रत्यक्षतर्फका कुनैपनि सिट जित्न सकेन ।

एस निकट अनेरास्ववियूले पदाधिकारीतर्फ सचिव र कोषाध्यक्षमा मात्रै उम्मेदवारी दिएको थियो । महेन्द्र मोरङको निर्वाचनमा प्रत्यक्षतर्फ २१ मत र समानुपातिकतर्फ ५१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ .

समानुपातिकतर्फ सदर मत ३ हजार १११ मध्ये नेविसंघले १ हजार ३०४, अनेरास्ववियुले ८१८, अखिल क्रान्तिकारीले ६०५ र अनेरास्ववियूले १२६ मत प्राप्त गरेका हुन् । प्राप्त मतका आधारमा नेविसंघले सदस्यतर्फ थप चार, अनेरास्ववियुले तीन र अखिल क्रान्तिकारी दुई र अनेरास्ववियूबाट एक सदस्य चुनिने छन् ।

महेन्द्र मोरङबाहेक नेविसंघले मोरङमा थप तीन क्याम्पसको अध्यक्ष जितेको छ । उर्लाबारी बहुमुखी क्याम्पसमा नेविसंघबाट विवेक कार्की, पथरी बहुमुखी क्याम्पसमा केशर राई र बेलबारी क्याम्पसमा पुष्कल सुवेदी निर्वाचित भएका हुन् । उर्लाबारीमा नेविसंघका कार्कीसँग अनेरास्ववियुकी प्रिती दाहाल र पथरी बहुमुखीमा नेविसंघका राईसँग अनेरास्ववियुका उज्वल लकान्द्री पराजित भए ।

बेलबारी क्याम्पसको अध्यक्षमा सुवेदीसहित अन्य पदमा विद्यार्थी संगठनहरुले मिलेर सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उर्लाबारी र पथरी क्याम्पसमा भने निर्वाचन नै भएको हो ।

अनेरास्ववियुबाट कानेपोखरीस्थित रमाईलो बहुमुखी क्याम्पसमा मालति रेग्मी, विराटनगरको स्नाकोत्तर क्याम्पसमा निर्मल शर्मा गजुरेल, विराटनगर नर्सिङ क्याम्पसमा प्रशंसा पौडेल र लेटाङ बहुमुखी क्याम्पसमा छवि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । उनीहरु सवै निर्वाचनबाट चुनिएका हुन् । 

अनेरास्ववियुले रमाइलो र लेटाङ क्याम्पसमा प्यानलै जितेको हो । स्नाकोत्तर क्याम्पसमा अध्यक्ष बाहेकका सवै पद नेविसंघ र अखिल (क्रान्तिकारी) गठबन्धनले जितेको जनाइएको छ ।

रमाइलोमा मालती रेग्मीले अखिल (क्रान्तिकारी) का अनिष कार्कीलाई पराजित गरिन् । स्नाकोत्तरको अध्यक्षमा क्रान्तिकारीकै शशी यादवलाई ५ मतले पराजित गरे । नर्सिङ क्याम्पस र लेटाङ क्याम्पसमा नेविसंघकी स्मारिका बराल र लेखनाथ दाहाल पराजित भएका हुन् ।

सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा भने नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूका सन्तोष लिम्बु अध्यक्षमा निर्वाचित भए । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि लिम्बुले एमाले निकट अनेरास्ववियुबाट स्ववियु सभापति जितेका थिए । लिम्बुसँग अनेरास्ववियुका मनोज कार्की झण्डै दोब्बर मतले पराजित भए । 

माओवादी निकट अखिल क्रान्तिकारीले केराबारीस्थित खदम क्याम्पसमा प्यानलै सर्वसम्मत घोषणा भएको जनाइएको छ । यद्यपि त्यहाँ क्याम्पस प्रशासनले नियमित रुपमा स्ववियु घोषणा गरेको भन्दै एमाले निकट अनेरास्ववियुले भने विरोध जनाउँदै आएको छ ।

सुकुना क्याम्पसबाहेक बाँकी सवैमा चैत ५ गते निर्वाचन भएको थियो । सुकुनामा भने चैत ६ गते स्ववियु निर्वाचन सम्पन्न भएको हो ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x