कोशी

‘कोशी प्रदेश’ नामाकरण गर्ने चार दलको विज्ञप्ति

‘सार्वभौम जनताबाट निर्वाचित भयौं, आफ्नो प्रदेशको नाम आफैं राख्यौं’

इकागज |
चैत १२, २०७९ आइतबार १६:५४ बजे

विराटनगर । तत्कालीन प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामाकरण गर्न प्रदेश सभामा मतदान गर्ने चार वटा राजनीतिक दलले सार्वभौम जनताबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरूले आफ्नो अधिकारको प्रयोग गर्दै प्रदेशको नामाकरण गरेको बताएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशस्तरका नेताहरूले आइतबार हस्ताक्षर गरी सार्वजनिक गरेको विज्ञप्तिमा प्रदेश नामाकरणको विषय कुनै दल विशेषको मात्रै बिषय नभएको उल्लेख छ । ‘सार्वभौम जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरूको आफ्नो प्रदेशको नामाकरण आफैं गर्न पाउने संवैधानिक अधिकार हो, यही संवैधानिक अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५ (२) अनुसार तत्कालिन प्रदेश नं १ को नामकरण ‘कोशी प्रदेश’ रहन पुगेको हो’ विज्ञप्तिमा भनिएको छ ।


कोशी प्रदेश नमान्ने चेतावनीसहित विरोधमा उत्रिएका पहिचान पक्षधर जातीय संघसंस्थाहरूले शान्तिपूर्ण आन्दोलन घोषणा गरेका थिए । तर घोषणा विपरीत चैत ५ गते विराटनगरमा उनीहरूले प्रदर्शन चर्काउँदा सोही आन्दोलनमा सहभागी पदम लिम्बुको ज्यान गइसकेको छ । अहिले पनि आन्दोलनरत पक्षले चक्काजाम र वडा कार्यालयमा तालाबन्दी लगायतका गतिविधि गरिरहेको बेला चार दलले भने प्रदेश सभाबाट पारित भइसकेको ‘कोशी प्रदेश’ लाई स्वीकार गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपाने, नेपाली कांग्रेसका कोशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्वव थापा, नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका सचिव गणेश उप्रेती र राप्रपाका कोशी प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गरेका छन् ।

उनीहरूले सामाजिक सद्भावमा खलल् पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्ना मत र मुद्दालाई स्थापित गर्न तथा संवाद, वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न सरकार लगायत सम्बन्धित सबै पक्षलाई अपिल गरेका हुन् ।

समयमा नामकरण नभएका कारणले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षबाट प्राप्त नेपालको आफ्नै मौलिक प्रकृतिको संघीय शासन व्यवस्थाप्रति नै विभिन्न कोणबाट प्रश्नहरू उठन थालेको उनीहरूले बताए । प्रदेशको नामप्रति प्रदेशवासीहरूको आम चासो सरोकार हुँदाहुँदै पनि विगत पाँच वर्षको अवधिमा प्रदेश नामाकरणको विषयमा दलहरूबीचमा भएका बैठक, छलफल, बहस लगायतका प्रयासहरू निष्कर्षविहीन भएको र प्रदेश नामविहीन हुनु परेको पीडा महसुस भएको उनले उल्लेख गरेका छन् ।

समयमै प्रदेशको नामकरण गर्न नसक्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरू प्रति नागरिक तहबाटै असन्तुष्टि, आलोचना र आक्रोस देखिएको र त्यसप्रति दलहरू बेखबर नरहेको भन्दै प्रदेशवासीको प्रदेशको नाम प्रतिको यही चहाना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै नामाकरण गरिएको चार दलको जिकिर छ ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको जनादेशले तत्कालिन प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू, दलका नेता तथा प्रदेश सभा सदस्यहरूको अथक प्रयासबाट बृहत्तर सहमतिका साथ प्रदेशको नामाकरण भएको उनीहरूले दाबी गरेका छन् ।

‘केही दिन यता कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल र सडक अवरोध जस्ता सार्वजनिक असन्तुष्टीका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ चार दलले भनेका छन्, ‘प्रदेश सभाको नामकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रकृयामार्फत त्यसको समाधान हुने नै छ, सार्वभौम सम्पन्न प्रदेश सभाको भारी बहुमतबाट भएको प्रदेशको नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशवासीमा हार्दिक अनुरोध गर्दछौं ।’

नामाकरणको विषयलाई लिएर भइरहेका सामाजिक सदभावमा खलल् पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्ना मत र मुद्दालाई स्थापित गर्न पनि आग्रह गरिएको छ । त्यस्तै चार दलले बृहत सहमतिका साथ प्रदेश सभाको नामाकरण गर्न सफल भएको भन्दै प्रदेश सभाका सदस्यहरूलाई धन्यवाद तथा बधाई पनि दिएका छन् ।


Author

थप समाचार
x