कोशी

कोशी नामकरणको विरोधमा वडा कार्यालय र प्रहरी भ्यान तोडफोड

इकागज |
चैत १७, २०७९ शुक्रबार १८:२४ बजे

विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयमा तालाबन्दी गर्न गएका जातीय पहिचान पक्षधर प्रदर्शनकारीहरूले प्रहरीको गाडी तोडफोड गरेका छन् ।

उनीहरूले ढुंगामुढा गर्दा वडा कार्यालयका झ्यालका प्राय:सबै सिसा फुटेका छन् । वडा कार्यालयको फर्निचर र अन्य कागजात लगायतका उपकरणहरूमा पनि क्षति पुगेको जनाइएको छ ।


शुक्रबार पहिचान पक्षधरहरूले वडा कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले ताला फुटाएपछि झडपको अवस्था बनेको थियो । उग्र बनेका प्रदर्शनकारीहरूले त्यसपछि वडा कार्यालयमा ढुंगामुढा गर्नुका साथै तरहरा प्रहरी चौकीको ना १ झ ६२० नम्बरको भ्याान समेत तोडफोड गरेका हुन् ।

वडा कार्यालय भवनका सिसाहरू फुटेका छन् भने डिजिटल बोर्ड पनि क्षतिग्रस्त भएको वडा कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिसम्बद्ध घटकहरू सम्बद्ध व्यक्तिहरूले कोशी नाम खारेजको माग गर्दै वडा कार्यालयहरूमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम चर्काइरहेका छन् ।

आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी धरानका पदम लिम्बूको मृत्यु भइसकेको छ ।

लिम्बूको मृत्युको विरोधमा उत्रिएका आन्दोलनकारीहरूले भने विरोधका कार्यक्रमलाई उग्र बनाउँदै लगेका छन् । चैत १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएका लिम्बूको शव अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन ।


Author

थप समाचार
x