कोशी

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई दोस्रो पटक सोधियो स्पष्टीकरण

इकागज |
बैशाख २९, २०८० शुक्रवार ७:५४ बजे

विराटनगर- कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि ७ दिने स्पष्टीकरण सोधेकोमा चित्त नबुझेको भन्दै पुनः दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । सदस्य सचिव वाग्लेलाई पहिलो पटक गत वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधिएको थियो । 


‘तपाईँलाई मिति २०८० बैशाख १७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्तबुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा ९४० बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८० वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार अनुसार अनुरोध छ ।’

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन उल्लेख नगरेको ? भन्दै मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले दोस्रो पटक स्पष्टीकरण सोधेका हुन् ।
 
उता मन्त्रालयले पहिलो स्पष्टीकरण सोधे लगतै प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न निर्देशन दिइसकिएको छ ।

लाखौं हिनामिनाको आरोपमा अख्तियारले थाल्यो छानबिन
वाग्ले सदस्य सचिव नियुक्त भएपछि प्रदेश खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तयारी र सहभागिताका नाममा ट्र्याकसुट, मेडल, टेन्ट भाडा लगायतका अन्य खेल सामग्री खरिदका शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

२०७९ फागुन १५ गते परेको उजुरीका आधारमा अख्तियारले चैत २२ गते बोर्डका नाममा ती सामग्री खरिदमा भएको भ्रष्टाचारउपर छानबिनका लागि राय प्रतिक्रियासहितका प्रमाणित कागजात माग गरेको पाइएको छ ।

खेल सामग्री खरिदमा अख्तियारले छानबिन थाले पनि बोर्डका पदाधिकारीहरूले यो घटनालाई गोप्य राख्ने समेत प्रयास गरेका थिए । उजुरीका आधारमा नवौं खेलकुदमा खेलाडीका लागि भनेर खरिद गरिएको ४२०० थान ट्र्याकसुट, मेडल, प्रमाणपत्र छपाई, टेन्ट भाडा लगायतका विषयमा हिनामिना गरेको उल्लेख छ । 

त्यसका साथै खेलाडीलाई उपलब्ध गराइने दैनिक भ्रमण भत्तामा कागज मिलाई हिनामिना गरेको, सामान खरिद र ढुवानीमा अनियमितता, बन्द प्रशिक्षणमा खेलकुद सामान शीर्षकमा ७ लाख, औषधि शीर्षकमा ५ लाख र विविध शीर्षकमा ५ लाख​ रुपैयाँ बिल मिलाएर हिनामिना गरेको पनि आरोप छ ।

प्रतियोगिताको उद्घाटन समारोहका लागि मात्रै बोर्ड सदस्य शैलेस विष्टले २० लाख खर्च देखाएको र उनले लिएको ४० लाख रुपैयाँ पेस्की पनि बिल मिलाएर हिनामिना गरेको विषयमा अख्तियारले जवाफ मागिसकेको छ ।


Author

थप समाचार
x