कोशी

आगलागीका घटना बढ्‌यो, एक सातामा ७ जनाको ज्यान गयो

बाबुराम भण्डारी |
बैशाख २९, २०८० शुक्रबार १०:४५ बजे

विराटनगर- चर्को गर्मी र सुख्खा मौसमका कारण देशभर आगलागीका घटना ह्वात्तै बढेका छन् । एक सातामा सात जनाको आगलागीमा परी ज्यान गएको छ । तेह्रथुम र दैलेखमा भएका आगलागीका अलग घटनामा बिहीबार मात्रै तीन जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा जंगलमा फैलिएको डढेलो निभाउन गएका आमाछोराको जलेर मृत्यु भएको छ । गढी सल्लेरी सामुदायिक वनको आगो निभाउने क्रममा ५५ वर्षीया दिलकुमारी भुजेल र उनका १६ वर्षीय छोरा कुमार भुजेलको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


वनमा फैलिएको आगो गाउँ पस्ने भयले निभाउन गएका उनीहरूको आगलागीमा परेर मृत्यु भएको जनाइएको छ । सामुदायिक वनबाट फैलिएको आगोले चार वटा घरसमेत जलेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा अन्य ४ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जनाइएको छ ।

बिहीबार नै उदयपुरको उदयपुरगढी  गाउँपालिका–७ हाडेबासका चोक बहादुर मगर र चित्र बहादुर मगरको घर गोठ, कृषि फर्मलगायत आगलागी हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी मोहन थापाले बताए । आगलागीबाट उनीहरूको घरसहित धनमाल पूर्णरुपमा जलेको जनाइएको छ ।

त्यसैगरी रौतामाई गाउँपालिका–२ को आहाले सामुदायिक वनबाट सल्किएको आगो गाउँ पस्दा स्थानीय ओम बहादुर तामाङको घर, गाईगोठ, मिल लगायत जलेको छ । उनको करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उदयपुरकै ताप्ली गाउँपालिका–५ कटहरेस्थित जंगलमा लागेको आगो घरमा सल्किँदा स्थानीय तुलबहादुर जिउ मगर र प्रल्हाद सिंहको घर गोठ जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बुधबार मात्रै दैलेखको आठबिस नगरपालिका–८ खिड्कीज्यूलाको भाता सामुदायिक वनमा आगलागीका क्रममा एक जनाको मृत्यु भएको थियो । उक्त दिन देशभरका ३० स्थानमा आगलागी र ११ स्थानका वनमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

मंगलबार अर्धखाँची जिल्लाको भुमिस्थान नगरपालिका–२ ज्वाईथुममा आगो निभाउने क्रममा चारजना पुरुषको मृत्यु भएको थियो । उक्त घटनामा अरु ६ जना जना घाइते भएका थिए । उक्त दिन देशभरका २८ स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।

सोमबार देशका १९ स्थानमा आगलागी हुँदा चार जना घाइते भएका भए । २० स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका थिए । आइतबार गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको थियो । उक्त दिन देशभर १८ स्थानमा आगलागी र एक स्थानमा डढेलो लागेको प्राधिकरणले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x