कोशी

कोशी प्रदेश

सरकार छाड्न जसपा र माओवादी केन्द्रलाई कांग्रेसकाे पत्र

जसपा मन्त्री लिम्बु भन्छिन् : यही सरकारको निरन्तरता पनि हुनसक्छ

बाबुराम भण्डारी |
जेठ ७, २०८० आइतबार १८:९ बजे

विराटनगर- १० दलीय केन्द्रीय गठबन्धनको भावना अनुसार कोशी प्रदेश सरकार ढाल्ने अनेकौं योजना अहिलेसम्म असफल बन्दा अहिलेकै सरकारमा जनता समाजवादीबाट मन्त्रालय सम्हालिरहेकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले सरकारबाट हट्ने वा निरन्तरता हुने भन्ने विषय टुंगो नलाएको बताएकी छन् । नेपाली कांग्रेस संसदीय दलको जेठ ४ गते बिहिबार बसेको संसदीय दलको बैठकले १० दलीय केन्द्रीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र जनता समाजवादीलाई सरकारबाट हट्ने चेतावनीपूर्ण आग्रह गरेको थियो ।

कांग्रेसले दलको निर्णय बमोजिम एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी दुवै दललाई लिखित रूपमै पत्राचार गर्ने निर्णय बमोजिम पत्र समेत पठाइसकेको छ । कोशी प्रदेश सभामा एक सिट रहेको जनता समाजवादी पार्टीकी मन्त्री लिम्बुले समेत कांग्रेसले पठाएको पत्र प्राप्त भइसकेको पुष्टि गरिन् । तर, उनले कांग्रेसको आग्रह अनुसार सरकार छाड्ने विषयमा पार्टीभित्र भने अहिलेसम्म कुनै पनि छलफल नभएको दाबी गर्दै यही सरकारलाई निरन्तरता दिन सकिने कुराको समेत संकेत गरिन् ।


‘कांग्रेसको पत्र प्राप्त भएको छ, सरकार छाड्छौँ छाड्दैनौ मैले सोच्नेभन्दा पनि पार्टीले जे निर्णय गर्छ त्यही हो मैले गर्ने,’ मन्त्री लिम्बुले भनिन्, ‘छोड्नु पर्ने पनि हुनसक्छ र निरन्तर रहनु पर्ने पनि हुनसक्छ ।’

उनले सरकार छाड्ने विषयमा पार्टीको केन्द्रीय तहबाट अहिलेसम्म कुनै पनि संकेतसम्म प्राप्त नभएको दाबी गरिन् । आफू पार्टीकै निर्णय बमोजिम वर्तमान सरकारको मन्त्री बनेकाले आगामी दिनमा पनि पार्टीकै निर्णय आधिकारिक रूपमा कार्यान्वयन हुने बताइन् । ‘अहिलेसम्म केही निर्देशन आएको छैन, किनभने केन्द्रको मिटिङ नै बसेको छैन, सांकेतिक रूपमा पनि केही आएका छैन,’ उनले भनिन्, ‘म यो ठाउँमा हुनु पनि पार्टीकै निर्णय हो र पार्टीको आधिकारिक निर्णयपछि जे पनि हुनसक्छ ।’

९३ सदस्यीय कोशी प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्की केन्द्रीय गठबन्धनमा कांग्रेससँग रहेको माओवादी केन्द्रका दुई मन्त्री र जसपाकी लिम्बुसहित सरकारको नेतृत्व गरिरहेका छन् । ४० सिटको एमाले, १३ सिटको माओवादी केन्द्र, ६ सिटको राप्रपा र एक सिटको जसपासहित सरकारलाई ६० सिटको स्पष्ट बहुमत कायमै छ ।

केन्द्रीय गठबन्धनको अर्को सरकारका लागि माओवादी केन्द्र र जसपाले सरकार छाड्नुपर्ने अवस्था छ । कार्की नेतृत्वको वर्तमान सरकार ढाल्न सरकारबाट फिर्ता जान दुवै दललाई बाटो खुल्ला छ तर प्रदेश सभाको अंक गणितले अर्को सरकार गठन चुनौतीपूर्ण रहेका कारण माओवादी केन्द्रले पनि अर्को सरकार गठनको स्पष्ट खाका तयार नभइ यो सरकारबाट हट्न नहुने तर्क गरिरहेको छ ।

प्रदेश सभामा बहुमत सिद्ध गर्न ४७ सिट आवश्यक हुन्छ । कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा (एस) ४ र जसपा १ सिट जोड्दा ४७ पुग्ने भए पनि माओवादी केन्द्रले पार्टीमा राजीनामा दिएर सभामुख भइसकेका बाबुराम गौतमलाई सरकार गठनको प्रक्रियामा गणना गर्न नपाउने अवस्था छ । कांग्रेसले भने सरकार गठनका लागि आवश्यक परे सभामुखले राजीनामा दिनुपर्नेसम्मको दबाब माओवादीलाई दिइरहेको छ । त्यसको पुष्टि गर्दै कांग्रेस संसदीय दलका नेता उद्धव थापा निकट प्रदेश सभा सदस्य भीम पराजुलीले आवश्यक परे सभामुखले राजीनामा दिनुपर्ने र नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने धारणा यसअघि नै राखिसकेका छन् ।

तर, माओवादीभित्र भने सभामुख जस्तो जिम्मेवार पदलाई नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन विवादमा नमुछ्ने अडान छ । कोशी प्रदेशको राजनीतिक अंकगणित निकै प्रतिकूल रहेकाले निकै सुझबुझपछि मात्रै निर्णयमा पुग्न सकिने माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यले बताए । उनले कोशी प्रदेशमा सकेसम्म माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने कुरामा दलभित्र एकमत रहेको दाबी समेत गरे ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x