कोशी

प्रदेश नामकरणको तीन महिना पुग्नै लाग्दा कांग्रेसले भन्यो :

नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट नामकरण गरियो

बाबुराम भण्डारी |
जेठ ११, २०८० बिहीबार १८:१२ बजे

विराटनगर- कोशी प्रदेश नामकरण भएको तीन महिना पुग्न लाग्दा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले बल्ल मुख खोलेको छ ।

कोशी प्रदेशको प्रदेश सभामा २९ सभा सदस्य रहेको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अघिल्लो अधिवेशनबाट नेपालका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानी तोकेपनि तत्कालीन अवस्थामा प्रदेश १ ले नाम राख्न नसकेको भन्दै कोशी प्रदेश नामकरणलाई ‘नाम राख्नैपर्ने’ र ‘साझा सहमतिबाट कोशी प्रदेश नामकरण गरियो’ भन्दै प्रष्टीकरण दिएका हुन् ।


प्रदेशको नामकरण टुंग्याउने छलफलमा नेकपा एमाले संसदीय दलका नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पर्याप्त उठबस गरेका थापाले नामकरणको विषयलाई त्यसपछि उत्पन्न भएको आन्दोलनप्रति शान्तिपूर्ण निकासबाट समाधान गर्नुपर्ने बताएका छन् ।

थापाले बिहीबार संसदीय दलको तर्फबाट विज्ञप्ति जारी गर्दै जनताको अथक परिश्रम, लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

‘राज्यले यति बेला संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाट नागरिकलाई सेवा प्रवाह गरिरहेको छ, यसरी सेवा प्रवाह गर्ने सरकार र सरकारका इकाइहरूको नाम, केन्द्र र राजधानी निश्चित स्थानमा तोक्नु पर्ने हुन्छ, त्यो जिम्मेवारी र कर्तव्यलाई हामीले पुरा गर्नै पर्दथ्यो र गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो प्रदेश सभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालीन प्रदेश नं. १ ले नाम राख्न सकिरहेको थिएन । नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामकरण गरियो ।’

थापाले कोशी प्रदेश नामकरणको विषय असन्तुष्टि स्वरूप संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति उक्त आन्दोलनलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरू राख्ने थलोका रूपमा प्रयोग गर्न समेत आग्रह गरेका हुन् । साथै कोशी प्रदेश सरकारले तत्काल वार्ता समिति बनाएर आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र उचित मागहरूलाई यथाशक्य सम्बोधन गर्न आग्रह समेत गरेका छन् ।

आन्दोलनको परिस्थितिलाई शान्त बनाउँदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलका लागि नेपाली कांग्रेस तयार रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आन्दोलनरत पक्षलाई सरकारले धरपकड गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न पनि आग्रह गरिएको छ ।

२०७९ चैत ५ मा भएको आन्दोलनका क्रममा घाइते भएका मोरङको बेलबारी–२ लालभित्तीका पदमबहादुर लिम्बु लाजेहाङको दुःखद निधन भएको घटना कांग्रेसले दुःख व्यक्त गरेको छ । त्यस्तै गत वैशाख २६ गते झापाको दमकमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका इलामको चुलाचुली–१ का गजेन्द्र फागो र झापा अर्जुनधारा–११ की निर्मला क्षेत्री लिम्बूसहितको सबै घाइतेहरूको स्वास्थ्य लाभ समेत कांग्रेसले गरेको छ । घाइतेहरूको सबै उपचार व्यहोर्न कांग्रेसले कोशी प्रदेश सरकारसँग माग गरेको छ ।

२०७९ फागुन १७ गते बसेको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनको १३औं बैठकले प्रदेशको नाम कोशी प्रदेश नामकरण गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसबाट उपस्थित भएका २६ जना सभा सदस्यहरूले कोशी प्रदेशकै पक्षमा मतदान गरेका थिए । कांग्रेसका प्रदेश सभा सदस्यहरू भिम पराजुली, खगेश्वरी पौडेल र खगेनसिंह हाङ्गाम भने बैठकमा अनुपस्थित रहेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x