कोशी

कोशी नामाकरणविरुद्ध आन्दाेलनकाे तयारी, विराटनगरका पाँच स्थानमा निषेधाज्ञा

बाबुराम भण्डारी |
जेठ १४, २०८० आइतबार ७:३ बजे

विराटनगर- आइतबारदेखि सुरु हुने प्रदेश सभाको बैठकलाई लक्षित गर्दै कोशी नामाकरणविरुद्ध आन्दोलित बनेका पहिचान पक्षधर दलहरुले विराटनगरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुको प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानमा शनिबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिसकेका छ ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरी ३०० मिटरसम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास परिपरी ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई अर्को आदेश नभएसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।


ती स्थानहरुमा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला,  र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएको’ विज्ञप्तिमा उल्लेख छ । 

२०७९ फागुन १७ मा प्रदेश सभाको बैठकले कोशी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधर समूहहरुले शान्तिपूर्ण आन्दोलनको घोषणा गरे पनि अहिलेसम्मका सबै आन्दोलन प्रहरीसँगको दोहोरो झडपमा परिणत हुँदै आएका छन् ।

उनीहरुले शुक्रबारमात्रै विराटनगरमा शारीरिक अभ्याससहितको शक्ति प्रदर्शनको प्रयास गरेका थिए । सरकारले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्दा नसुनेको भन्दै अबको आन्दोलनलाई जित र हारको हिसाबले ‘युद्ध’ जस्तै गरी अघि बढाउने उनीहरुले चेतावनी दिइसकेका छन् । आइतबारको प्रदर्शनलाई सशक्त बनाउन भीम राई संयोजक र विराज लिम्बु सह–संयोजक रहेको १५१ सदस्यीय युवा दस्ता समेत घोषणा गरेका हुन् ।

सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै विराटनगरमा शनिबार साँझदेखि नै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । निषेधित क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति बढाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x