कोशी

कोशी नामकरणको विरोध

निषेधित क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच दिनभर झडप

सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ५० बढी घाइते, ३८ राउण्ड हवाई फायर

बाबुराम भण्डारी |
जेठ १४, २०८० आइतबार २०:३९ बजे

विराटनगर- कोशी प्रदेश नामकरणको विरुद्ध आक्रोसित पहिचान पक्षधर समूह र प्रहरीबीच निषेधाज्ञा जारी भएको देवकोटा चोकमा झडपमा आन्दोलनकारी र प्रहरी गरी ५० बढी जना घाइते भएका छन् । आधा दर्जन सरकारी सवारी साधन समेत तोडफोड भएका छन् ।

आइतबारदेखि सुरु भएको कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचान पक्षधर समूहले विराटनगर केन्द्रित आन्दोलन थालेका थिए । देवकोटा चोकमा विहानैदेखि प्रदर्शनकारीहरूको उपस्थिति देखिएपछि प्रहरीले तीन दर्जनलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रदेश प्रहरी तालिम केन्द्र रानीमा राखेको छ ।


त्यसपछि आन्दोलित बनेका पहिचान पक्षधर समूहका कार्यकर्ताहरूले देवकोटा चोकमा शान्तिपूर्ण सभा गर्ने घोषणा गर्दै नामकरणको विरोध गर्ने कार्यक्रम राखे पनि अनियन्त्रित प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । त्यसपछि भएको झडपका क्रममा प्रदर्शनकारी र प्रहरी गरी ५० जना बढी घाइते भएका हुन् ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई प्रहरीले रोक्न खोजेको थियो । प्रहरीले प्रदर्शनकारीहरूको भिड नियन्त्रण गर्न सुरुमा पानीको फोहोरा हाने पनि स्थिति नियन्त्रणमा लिन सकेन । त्यसपछि भएको भडपमा प्रहरीले ७४ सेल अश्रुग्याँस र ३८ राउण्ड हवाई फायर गरेको जनाइएको छ ।

प्रदर्शनकारीतर्फ १६ जना र प्रहरीतर्फ ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए । नेपाल प्रहरीका २३ र सशस्त्र प्रहरीतर्फ १७ जना घाइते भएका हुन् ।

घाइतेहरू धेरैको टाउकोमा र केहीको हातमा चोटपटक लागेको छ । प्रहरीले व्यक्तिका घरभित्र लुकेका प्रदर्शनकारीहरूलाई समेत नियन्त्रण लिएको थियो । दोहोरो झडपका क्रममा देवकोटा चोकमै रहेको कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा राखिएका सवारी साधनहरू तोडफोड भएका छन् । सोही ठाउँमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको बा १ ग ३११५ नम्बरको भ्याक्सिन ढुवानी गर्ने भ्यानमा समेत प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढाबाट सोही केन्द्रको बा २ झ २८४८ नम्बरको भ्यान, स्वास्थ्य मन्त्रालयको बा २ झ २४०८ नम्बरको टाटा सूमो, प्रदेश स्वास्थ्य निर्देशनालयको बा२झ ३१२८ नम्बरको स्कार्पियो लगायतका सवारी साधनमा ठूलो क्षति पुगेको छ । त्यसैगरी बा १० च ७३२ नम्बरको निजी कारमा समेत ढुंगामुढा भएको जनाइएको छ ।

तोडफोडबाट स्वास्थ्य मन्त्रालयको सडकतर्फका झ्यालका सिसा फुटेका छन् । मन्त्री निर्मला लिम्बुको कार्यकक्षमा गोलीसमेत लागेको निसाना भेटिएको छ । सडकमा खटिएका प्रहरीहरूले भने हवाई फायरका क्रममा रबरका गोली लागेको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

झडपका कारण देवकोटा चोक क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । देवकोटा चोकमा शान्तिपूर्ण आन्दोलन गर्ने भनिए पनि आन्दोलनकारीहरू नै अनियन्त्रित बन्दा विगतदेखि नै समस्या हुँदै आएको केही प्रदर्शनकारीहरूले गुनासो गरेका थिए । लिम्बुवान फोर्स नामक युवा पुस्तासम्बद्ध कार्यकर्ताहरू आक्रामक प्रदर्शनमा देखिन्थे ।

प्रदर्शनकारीहरूले कटबाँसका भाटा, सिसा, बोतल र गुलेलीले प्रहरीहरूमाथि प्रहार गरेका थिए । उनीहरूले प्रदर्शनमा क्रममा प्रयोग गर्न ल्याएका केही घरेलु हातहतियार र वाकीटाकी भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

देवकोटो चोकमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गर्नुका साथै नजिकै रहेको होटलको सिलिण्डर ग्याँस मा समेत आगो लगाउने प्रयास गरेका थिए । तर, प्रहरीले पानीको फोहोराको सहायताले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

दिनभरको आन्दोलनका कारण त्यस क्षेत्रका स्थानीय व्यापारीहरूले भने आफ्नो व्यापार व्यवसाय प्रभावित भएको भन्दै आन्दोलनकै क्रममा आक्रोस पनि पोखेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x