कोशी

लु लाग्ने सम्भावना बढेको भन्दै विराटनगरमा थप तीन दिन विद्यालय विदा

इकागज |
जेठ २१, २०८० आइतबार ६:४७ बजे

विराटनगर । लगातारको चर्को घामका कारण जमिनको तापक्रम अत्याधिक वृद्धि भई जनजीवन नै प्रभावित हुँदै गएको र लु लाग्न सक्ने भन्दै विराटनगर महानगरपालिकाले विद्यालय बिदाको समय लम्ब्याएको छ । 

महानगरपालिकाभित्र अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरुको टिनको छाना भएका कारण गर्मीले विद्यालयहरुको शैक्षिक जनजीवन नै प्रभावित भएको भन्दै आइतबारदेखि मंगलबारसम्म थप तीन दिन विद्यालय बिदा दिइएको जनाइएको छ ।


विराटनगरमा एक सातायता आकासमा बादल देखिएको छैन । मौसम बदली हुन सकेको छैन । चर्को घामका कारण दैनिकजसो तापक्रम ४१ डिग्रीसम्म पुग्दै आएको छ । 

यसअघि महानगरपालिकाले बिहीबार र शुक्रबार सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । तर शनिबारसम्म पनि तापक्रम नघटेको र जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराई क्षेत्रमा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना रहेको जानकारी सार्वजनिक गरेपछि शनिबार मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराई क्षेत्रमा तातो हावा तथा लु लाग्ने सम्भावना रहेकाले सोबाट बच्नका लागि अनुरोध गरी सार्वजनिक सूचना जारी भएको हुँदा सो का आधारमा थप तीन दिन विद्यालयमा बिदा दिने नगर प्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकबाट निर्णय भएको’ सूचनामा भनिएको छ ।

विराटनगर महानगरपालिकाभित्र संस्थागत १००, सामुदायिक ५६ र २२ वटा धार्मिक विद्यालय रहेको शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराईले बताए । 

गर्मीले गर्दा कतिपय विद्यालयमा बालबालिकाहरु बिरामी परिरहेको र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालयहरुको पठनपाठन बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।


Author

थप समाचार
x