कोशी

म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु

इकागज |
जेठ २३, २०८० मंगलबार ११:२५ बजे

खोटाङ- म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ ।

३३ महिने म्याद सकिन लाग्दा एम/एस कालिका–बेदांसी जेभी, काठमाडौँले बंशिलाघाटमा जेठ १९ गतेदेखि पक्की पुल निर्माण सुरु गरेको हो ।


ठेकेदारले आगामी २०८० असोजसम्म म्याद रहेको पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए । बंशिलाघाटमा केही दिनदेखि ठेकेदारले पुलको काम सुरु गरेको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।  

एम/एस कालिका–बेदांसी जेभीले ३३ महिनामा भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सयमा सक्नेगरी २०७७ पुस २८ गते पुलको ठेक्का सम्झौता गरेको थियो । तत्कालिन परराष्ट्र मन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते शिल्यान्यास गरेको पुलको काम हालसम्म ठप्प बनाइएको थियो ।

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । पुलको पेटी ठेक्का लिएर सम्पर्कविहिन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो । तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताए ।

‘निरन्तरको दबाब पश्चात बंशिलाघाटको पुल निर्माण शुरु भएको छ,’ प्रदेश सांसद भुपेन्द्र राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हेरौं, कसरी ढिला सुस्ती हुँदो रहेछ ! काम नगर्नेलाई काम पुर्‍याउन हामीलाई राम्रैसँग आउँछ ।’ 

बंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोसी वारपार गर्ने व्यवस्था छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।


Author

थप समाचार
x