कोशी

सरकारबारे निर्णय गर्न माओवादी बैठक चलिरहँदा राप्रपाका सिटौला र मुख्यमन्त्री कार्कीबीच भेट

इकागज |
जेठ २३, २०८० मंगलबार ११:३३ बजे

विराटनगर- कोशी प्रदेश सरकारबाट बाहिरिने कि नीति तथा कार्यक्रम र बजेटसम्म पर्खिने बिषयमा निर्णय गर्न माओवादी केन्द्रको प्रदेश पदाधिकारीसहित संसदीय दलका नेताहरूबीच छलफल चलिरहँदा राप्रपा संसदीय दलका नेता एवं सरकारकै प्रवक्ता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेका छन् ।

राप्रपाका अरु सांसद र कार्यकर्ताहरूसहित उनीहरूले मुख्यमन्त्री कार्कीको निवासमै पुगेर भेटघाट गरेका हुन् । भेटघाटमा सत्ता गठबन्धनभित्रको साझेदार जसपाले समर्थन लिएपछिको परिस्थितिबारे कुराकानी भएको राप्रपा संसदीय दलका नेता सिटौलाले जानकारी दिए । 


उनले मुख्यमन्त्रीसँगको भेटमा राप्रपाले कहिलेपनि अवसरवादी ढंगले अघि नबढ्ने स्पष्ट पारेको बताए । सरकारमा सहभागी दलको हिसाबले विश्वासको मत लिनका लागि तयार रहेको बताए । 

‘सरकारमा सहभागी दलको हिसावले हामी विश्वासको मत लिन तयार छौं, असार १५ सम्ममा हामी फेस गर्छौं’ उनले भने, ‘अहिलेको गठबन्धन साझेदार भएको नाताले अवसरवादी ढंगले राप्रपा चल्दैन ।’ 

सरकारकै घटक माओवादी केन्द्रले समेत समर्थन फिर्ता लिने चर्चा चलेपनि त्यसबारे आधिकारिक जानकारी आफुले प्राप्त नगरेको सिटौलाले बताए । 

‘माओवादीले समर्थन फिर्ता लिने बिषयमा आधिकारिक कुरामा हामीलाई जानकारी छैन, फिर्ता लिएपनि हामी इथिक्स र कोड अफ कन्डक्टभित्रै रहन्छौं’ उनले भने । 

कोशी प्रदेशमा मंगलबार माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा बुझाउने चर्चा चलिरहेको छ । तर माओवादीले यो बिषयमा अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन ।

माओवादीले समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा पर्नेछन् । उनलाई सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम पारित गर्न नै अप्ठेरो हुनेछ । माओवादी केन्द्र बाहिरिएको खण्डमा सरकारमा राप्रपा र एमालेमात्रै बाँकी रहन्छ । एमालेसँग ४० र राप्रपाको ६ सिट गरी ४६ सांसदको समर्थन बहुमतका लागि अपर्याप्त हो । 

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पुर‍्याउन मुख्यमन्त्री कार्कीलाई ४७ सिट आवश्यक पर्नेछ । नीति तथा कार्यक्रम प्रदेश सभाबाट फेल भए मुख्यमन्त्री कार्कीलाई पदबाट राजिनामा दिन नैतिक दवाव हुन्छ ।


Author

थप समाचार
x