कोशी

शीर ठाडो पारेर भन्न सक्छु, मैले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचारको कुनै गन्ध आएन : जीवन आचार्य

इकागज |
जेठ २४, २०८० बुधबार ८:१७ बजे

विराटनगर- मन्त्री बनेको पाँच महिना पनि नपुग्दै सरकार छाडेका नेकपा माओवादीका केन्द्रीय सदस्य जीवन आचार्यले आफूले सम्हालेको मन्त्रालयमा भ्रष्टाचारको गन्ध आउन नपाएको दाबी गरेका छन् । उनले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रीबाट हटेपछि सामाजिक सञ्‍जालमार्फत यस्तो दाबी सार्वजनिक गरेका हुन् । 

आफू पार्टीको निर्णय अनुसार मन्त्री बनेको भन्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा र  विकास गर्ने हुटहुटीले आफू सामु गहन जिम्मेवारी र चुनौतीहरू रहेको भन्दै मन्त्री पदमा रहुन्जेल अहोरात्र काम गरेको बताएका हुन् ।
मन्त्री पदको शपथ लिँदै गर्दा नै आफूले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउँदै पारदर्शी ढंगले काम गर्ने बाचा गरेको बताए । मन्त्री पदमा रहुन्जेल आफ्नो पूर्ण समय मन्त्रालयको काममा लगाउने, अनावश्यक कार्यक्रमभन्दा जनतासँग प्रत्यक्ष जोडिने र योजनाबद्ध रुपमा प्रदेशको विकासका लागि भूमिका निर्वाह गर्ने संकल्प गरेर काम गरेको दाबी गरे । 


‘आज गर्वका साथ शीर ठाडो पारेर भन्न सकिन्छ, मैले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचारको कुनै पनि गन्ध आएन, आउन पाएन’ उनले भनेका छन्, ‘यसका लागि म मातहतका सचिवालयका साथीहरू, जनसमुदायले प्रकट गर्नुभएको शुभेच्छा र कर्मचारी साथीहरुप्रति धन्यवाद र आभार प्रकट गर्दछु ।’
 
कर्मचारी प्रशासनप्रति निकै विश्वस्त देखिएका मन्त्री आचार्यले मंगलबार नै माओवादी केन्द्र संसदीय दलको निर्णय अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष मन्त्री पदबाट राजीनामा बुझाइसकेका छन् । उनले आफ्नो कार्यकालमा पर्यटन विकासका लागि आयोजनाहरु सम्झौता गर्न मत्रालयमै धाउनुपर्ने बाध्यताको अन्त्य गरेको दाबी गर्दै सम्बन्धित जिल्लामै रहेको वन डिभिजन कार्यालयमार्फत सम्झौता गर्न सकिने व्यवस्था मिलाएको बताएका छन् ।

त्यसैगरी कोशी प्रदेशको ‘वन नियमावली २०८०’ लाई मन्त्री परिषद्‌मार्फत कार्यन्वयन गर्ने चरणमा रहेता पनि राजनीतिक घटनाक्रमका कारण सरकार छाड्नु परेकोले त्यो काम गर्न नसकेको दुखेसो पोखेका हुन् । 

आचार्यले लामो समयसम्म ठूलो समस्याको रुपमा रहेको संघ फाजिल (पुल) दरबन्दीमा रहेका वन रक्षकहरूलाई प्रदेशमा समायोजन गर्ने प्रकृयासमेत अन्तिम चरणमा पुर्‍याएको बताए । आफ्नो कार्यकालमै धरानमा निर्माणाधिन वन निर्देशनालय भवनको बिषयमा धरान उपमहानगरपालिकासँग भएको लामो विवादलाई समाधानतर्फ सहजिकरण गरेको बताए ।

खेल पर्यटनमार्फत पर्यटन प्रवर्द्धन गर्न ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पौराणिक एवं ऐतिहासिक विराटराजाको दरबारदेखि बर्जु तालसम्म म्याराथन दौडको आयोजना गरी राष्ट्रिय एवं अंतर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धनमा पहल गरेको उनले दाबी गरे ।

मन्त्री भएकै बेलामा संयुक्त राष्ट्रसंघीय संस्था एफएओमार्फत हिमाली र मध्य पहाडी जिल्लाको जैविक विधिता संरक्षणसम्बन्धि कार्यक्रमका लागि ४२ लाख अमेरिकी डलर बराबरको लगानी भित्र्याउन सफल भएको बताए । उनले प्रदेश सरकारले कुनै पनि योजनाहरुमा लगानी गर्दा प्रदेश सरकारलाई नै प्रतिफल आउने गरी लगानी गर्नुपर्ने सुझाव दिएका छन् ।


Author

थप समाचार
x