कोशी

काेशी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस ढुक्क

राजीनामा दिनुको साटो संसद छलेर बजेट ल्याउन लागेको भन्दै सरकारको विरोध

बाबुराम भण्डारी |
जेठ २४, २०८० बुधबार १८:७ बजे

विराटनगर । माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मन्त्रीहरुले समेत राजीनामा गरिसकेपछि प्रदेश सभा निर्वाचनको मतपरिणामको अंक गणितले अल्पमतमा परेको कोशी प्रदेश सरकारले प्रदेश सभालाई छलेर अध्यादेशमार्फत बजेट ल्याउन लागेको भन्दै कांग्रेसले विरोध जनाएको छ । बुधबार बसेको संसदीय दलको बैठकले अल्पमतमा परेको सरकारले तत्कालै राजीनामा दिएर अर्को सरकार निर्माणको बाटो खोल्नुको साटो अध्यादेशबाट बजेट ल्याउने प्रक्रियातिर लागेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो । 

कोशी प्रदेशमा आफूले सरकारको नेतृत्व पाउने अवस्था बनिसकेको कांग्रेसको बुझाई छ । मुख्यमन्त्रीले तत्कालन राजिनामा दिए आफ्नो नेतृत्वमा बन्ने सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउन समय प्राप्त गर्ने रणनीतिमा कांग्रेस केन्द्रीत छ । बुधबार बसेको संसदीय दलको बैठकले अल्पमतमा परेका मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै अध्यादेशमार्फत बजेट ल्याउने तयारीको विरोध जनाएको हो ।


कांग्रेस प्रमुख सचेतक राईले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेकै कारण मंगलबारदेखि प्रदेश सभाको बैठक अनिश्चितकालीन स्थगन भएको आरोप लगाए । उनले प्रदेश सभा बैठक स्थगन हुनुमा सरकार नै गैरजिम्मेवार बनेको टिप्पणी गरे । मंगलबारको प्रदेश सभा बैठकको अन्त्यमा सभामुख बाबुराम गौतमले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका थिए । राईले सरकारकै योजनामा प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको दाबी गरे । 

‘चालु अधिवेशन अर्को सूचना नआउन्जेलका लागि स्थगित भएको छ, आजको बैठकले त्यसमा खेद प्रकट गरेका छौं, आज प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने बिषय थियो, सवै प्रदेश सभा सदस्यहरुमा नीति तथा कार्यक्रम पेश हुन्छ भन्ने थियो’ उनले भने, ‘तर प्रदेश सभालाई बिज्नेस नदिई हठातमा अल्पमतमा परेको सरकारले प्रदेश सभाको बैठक स्थगित गरेको छ, माओवादी र जसपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिए पश्चात अध्यादेशमार्फत बजेट ल्याउने नियोजित रुपमा कार्य गर्दैछ ।’

कोशी प्रदेशमा फेरिएको सत्ता समिकरणमा नेपाली कांग्रेस आगामी सरकारको नेतृत्वको सवैभन्दा ठुलो दाबेदार हो । मंगलबारको कांग्रेस संसदीय दलको बैठकले नयाँ गठबन्धनमा कांग्रेस सवैभन्दा ठुलो दल र प्रदेश सभाको दोस्रो दल भएको हिसाबले कांग्रेसले सरकारको नेतृत्व पाउने र त्यो नेतृत्व दलका नेता उद्धव थापाले गर्ने सर्वसम्मत निर्णय गरिसकेको प्रमुख सचेतक भूपेन्द्र राईले बताएका थिए ।

सोही निर्णयका आधारमा सत्ता समिकरणका अन्य दलहरुसँग कांग्रेसले स्पष्ट रुपमा कुरा राखिसकेको समेत उनले जानकारी दिए ।

‘हिजो (मंगलबार) बसेको संसदीय दलको बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ र दलका नेता उद्धव थापा नै प्रदेशको मुख्यमन्त्री बन्नुपर्छ भनेर हामीले निर्णय गरेका छौं’ उनले भने, ‘हामी यो प्रदेशको दोस्रो ठूलो दल भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णयमा पुगेका हौं ।’

कांग्रेसले आफू नेतृत्वको सरकार गठन गर्न गठबन्धनभित्र मंगलबारदेखि नै छलफल सुरु गरेको छ । त्यसको पुष्टि गर्दै प्रमुख सचेतक राईले गठबन्धनभित्र आफ्नो अडान समेत राखिसकेको जानकारी दिए । ठूलो दल भएको र कोशी प्रदेशमा अहिलेसम्म कांग्रेसले नेतृत्व पनि नगरेकोले समेत कांग्रेस प्रमुख दाबेदार रहेको उनले बताए । 

‘यो देशमा जहिले समस्या हुन्छ तहिले कांग्रेसबाटै समाधान भइरहेको छ, कांग्रेस समस्या होइन समाधान हो’ उनले भने, ‘प्रदेशमा अनेकौं समस्या छन्, नामाकरणपछि प्रदेश तात्तिएको छ, मत्थर पार्न पनि कांग्रेस नेतृत्व सक्षम छ ।’

यसैबीच नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले भने कोशी प्रदेशमा माओवादी नेतृत्वको सरकार बन्नुपर्ने आफ्नो स्पष्ट अडान रहेको बताएका छन् । उनले त्यसको संकेत मंगलबार साँझ नै सामाजिक संजालमार्फत आफू अरुलाई बनाउने दौडमा रहेको उल्लेख गरेका थिए । राईले ‘अरु’ भनेर उल्लेख गरेको दल माओवादी नै भएको कुरा मंगलबार नै संचारकर्मीहरुलाई सुनाएका थिए ।

आफ्नै नेतृत्वमा सरकार बन्नेमा ढुक्क देखिएको कांग्रेस भने गठबन्धनभित्र सबैले मुख्यमन्त्रीको दाबी गर्न पाउने भन्दै त्यसलाई स्वभाविक रुपमा लिइएको बताउँदै आएको छ ।

‘हामीलाई एकीकृत समाजवादी दलको नेताले त्यसो भन्नुभयो जस्तो लाग्दैन, तथापि पनि हिजो दलका नेताहरुबिचमा कुरा भएको छ’ राईले भने, ‘बाहिर एक किसिमले बोल्ने भएपनि हामीबिचको समझदारी बनाउने कुरामा हिजो नै समझदारी बनेको छ, नेकपा माओवादीले पनि दाबी गर्नुपनि अस्वभाविक होइन, जसपाले पनि दाबी गर्नु स्वभाविक छ, अन्यथा लिनु हुँदैन ।’

राईले भावी सरकारमा राप्रपालाई ल्याउनका लागि समेत अनौपचारिक र अनौपचारिक रुपमा कुराकानी भइरहेको जानकारी दिए । कुराकानीका क्रममा राप्रपाले अहिलेसम्म मुख्यमन्त्रीको दाबी नगरेको बताए । दाबी गरेपनि कांग्रेसले राप्रपालाई पनि स्वभाविक रुपमै लिने जवाफ दिए ।

उनले भने– ‘गठबन्धन बन्दैगर्दा त्यो फेरी अस्वभाविक होइन, दलीय व्यवस्थामा भागबण्डा गरेर रोलक्रम अनुसार जाने भन्ने कुरामा राप्रपाले पनि माग्नुलाई अस्वभाविक ठान्नु हुँदैन ।’

९३ सदस्यीय कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ जना सभा सदस्यको बहुमत चाहिन्छ । अल्पमतमा परेका वहालवाला मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन नसके स्वतः पदमुक्त हुनेछन् । त्यसअघि नै मुख्यमन्त्रीले राजिनामा गरिदिए सरकार बनाइहाल्ने दाउमा रहेको कांग्रेससँग २९ सांसद छन् । माओवादीबाट सभामुख बाहेक १३, नेकपा (एस) को ४ र जसपाको एक सिट रहेको छ । सरकार गठनको दाबी पेश गर्दा सभामुखको सिट संख्या माओवादी केन्द्रकै भागमा गणना नहुने दाबी एमालेको छ । सभामुखले दल त्याग गरेको घोषणा गरेपनि माओवादी केन्द्रबाटै निर्वाचित भएर आएका कारण उनलाई माओवादी संसदीय दलको सदस्यका रुपमा गणना गरिनु पर्ने दाबी कांग्रेस र माओवादीको रहँदै आएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x