कोशी

उपसभामुख र दलका उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दलद्वारा भर्त्सना

इकागज |
जेठ २५, २०८० बिहीबार १९:२९ बजे

विराटनगर- पहिचानवादी समूहको नाममा दल सम्बद्ध नेता कार्यकर्ताहरूकै संलग्नतामा उपसभामुख सृजना दनुवारमाथि सांघातिक आक्रमण र संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलले भर्त्सना गरेको छ । संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले दुवै घटनाको भर्त्सना गर्दै हिंसात्मक कार्य रोक्नका लागि आग्रह गरेका छन् ।

कोशी प्रदेशकी उपसभामुख दनुवारमाथि बिहीबार उदयपुरको गाईघाट नजिकै पहिचान पक्षधर समूहले ढुंगामुढा गरेका थिए । त्यसैगरी एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राना चढेको गाडीमा इलाम नगरपालिका–११ सोयाकमा मोबिलसहितको बाल्टी प्रहार भएको थियो ।


प्रमुख सचेतक भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले समाजमा अमन चयन र शान्ति सुरक्षा कायम गर्ने संघीय सरकारको दायित्व भए पनि गृहमन्त्रालय त्यसमा चुक्दै आएको आरोप लगाए ।

‘मुलुकमा शान्ति सुरक्षा कायम गर्न संघीय सरकार चुक्दै गएको देखिन्छ,’ उनले भने, ‘प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई सरकारले वार्ताको आह्वान गरिसकेको र वार्ता समिति समेत घोषणा गरिसकेको अवस्थामा नियोजित आक्रमण हुनु दु:खद छ ।’

उनले नामकरणपछिको असन्तुष्टिलाई सम्बोधन गर्न वार्ताको वातावरण बन्दै गएको दाबी गरेका छन् । तर, बिहीबारको घटनाले पहिचान पक्षधरहरूले आफूलाई नै वार्ताको विरोधी भएको प्रमाणित गर्न खोजेको उनले बताए । उनले समस्या समाधानका लागि वार्ता, संवाद र छलफलबाट निकास खोज्न हामी आग्रह गरेको बताए । 

आक्रमणबाट उपमेयर दनुवार चढेको बा २ झ ३७३८ नम्बरको स्कार्पियोको पछाडिको भागमा सीसा फुटेको छ भने उनीसँगै रहेकी त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई चढेको गाडीमा समेत ढुंगामुढा हुँदा गाडी क्षतिग्रस्त भएको जनाइएको छ । उपसभामुख दनुवार त्रियुगा नगरपालिका–३ भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित भएकी थिइन् ।


Author

थप समाचार
x