कोशी

उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

इकागज |
जेठ ४, २०७८ मगलवार १३:५१ बजे

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । बिरामीको उपचारमा ढिलाइ गरेको भन्दै एक समूहले उनीहरूमाथि कुटपिट गरेको हो । 

बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । उनको उपचार ढिलो गरिएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । मधुमेहको पूरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै उपचारका लागि ल्याइएको थियो । 


समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ । त्यहाँबाट आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो ।

अस्पतालका कर्मचारी सुनील देवकाअनुसार आकस्मिक कक्षमा छिरेर डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण गरिएको हो । कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भइ ल्याइएका दुई जनाको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि एउटा समूहले लगातार कुटपिट र आक्रमण गरेको जानकारी देवले दिए । 

आक्रमणबाट डाक्टर रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको जानकारी देवले दिए । चिकित्सकमाथि आक्रमण हुन थालेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको देवको भनाइ छ । 

मोरङ प्रहरी अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको संख्यामा रहेको समूहले कुटपिट गरेको हो । प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ । डिएसपी राईकाअनुसार घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीब्र पारिएको छ ।
 


Author

थप समाचार
x