कोशी

ताप्लेजुङको फुङलिङ नगरपालिकामा निषेधाज्ञा बढ्यो

इकागज |
जेठ १६, २०७८ आइतवार १९:५७ बजे

फाइल फोटो

ताप्लेजुङ : फुङलिङ नगरपालिकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि तेस्रोपटक थप गरिएको अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले पुन अवधि थप गर्दै यही जेठ २४ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।
 
यसअघि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप भएको थियो । सङ्क्रमणको अवस्था सामान्यतर्फ नफर्किएकाले यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाइएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा अनावश्यक हिंडडुल नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यसैबीच सिरिजङ्घा गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । केही दिनयता गाउँपालिकाभित्रै कोभिड-१९ को सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अत्यावश्यकबाहेकका सेवा यही जेठ २२ गतेसम्म स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।
 
गाउँ कार्यपालिकाको कार्यालय, माताहतका सबै वडा र नेपाल बैंक लिमिटेडबाट प्रवाह हुँदै आएका सेवा स्थगित गरिएको हो । यसअघि समेत उक्त सेवाहरु स्थगित गरिएको थियो ।
 
यस्तै जेठ २२ गतेसम्म यात्रुवाहक सवारीसाधनको आगमनमा पूर्णरुपले रोक लगाइएको समेत जनाइएको छ । सङ्क्रमण दिनानुदिन बढिरहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सर्वसाधारण सबैलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ । रासस
 



Author

थप समाचार
x