कोशी

प्रहरीले अहेबलाई कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

इकागज |
जेठ १९, २०७८ बुधवार १६:३० बजे

विराटनगर : अस्पतालबाट घर फर्कँदै गरेका स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । कोशी अस्पतालमा कार्यरत सिनियर पाँचौं तहका अहेब अशोक राजवंशीलाई मंगलबार राति दुई जना प्रहरीले कुटपिट गरेको आरोप स्वास्थ्यकर्मीले लगाएका हुन् ।

अस्पतालको काम सकेर घर फर्कने क्रममा राति ९ बजे विराटनगरको देवकोटा चोकमा ती अहेबमाथि कुटपिट भएको हो । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेकोसमेत जनाइएको छ । कोभिड-१९का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरूले प्ले-कार्ड देखाएर विरोध गरेका छन् ।


नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए । संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमासमेत ध्यानाकर्षण गराएको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।


Author

थप समाचार
x